काठमाडौं – प्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) २०२५ को खेल तालिका सार्वजनिक भएको छ । यसै महिना हुने एनएसएलको तेस्रो संस्करणको खेलतालिका शुक्रबार सार्वजनिक भएको हो । उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।
दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन् । चैत १८ गते एफसी चितवनले पोखरा थन्डर्ससँग खेल्दै लिगको सुरुवात गर्नेछ । चैत १९ गते धनगढी एफसीले पहिलो खेल बुटवल लुम्बिनीसँग खेल्ने तालिका रहेको छ ।
७ टोली यो पटक उपाधिका लागि खेल्नेछन् । लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टिम प्ले अफमा प्रवेश गर्नेछन् । प्ले अफमा फाइनल सहित ४ खेल हुनेछ । यसरी यो पटक एनएसएलमा २५ खेल सञ्चालन हुनेछन् ।
एनएसएलको यसअघि अक्सन भैसकेको छ । ‘सी’ क्याटगरीको लागि ड्राफ्ट पनि गत साता सकिएको छ । विदेशी खेलाडीको हकमा अधिकांश टोली खेलाडी अनुबन्ध गरिसकेको छ । यो पटक लिगको प्रमुख प्रायोजक एनसेल रहेको छ । आयोजकले यो पटकको पुरस्कार रकम भने सार्वजनिक गरेको छैन ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।