काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ।
आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ।
‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ। सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ। जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण भएको छ,’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने।
पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ। परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए।
परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ। सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ।
यस पटकको एसईईमा सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ। नियन्त्रक पौडेलका अनुसार, काठमाडौं र दैलेखका दुई कारागारबाट विद्यार्थीले एसईई दिनेछन्। यस्तै, भक्तपुरको सुधार गृहबाट पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ।
यस्तै, यस वर्षको एसईईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुँदै छन्। सो विद्यालयबाट चारजना एचआईभी संक्रमित विद्यार्थीले एसईई दिने नियन्त्रक पौडेलले जानकारी दिए।
यस वर्षको एसईईको नतिजा लेटर ग्रेडिङ सिष्टम अनुसार नै हुनेछ, जुन गत वर्षदेखि लागु भइसकेको छ। परीक्षा चैत १९ सम्म सञ्चालन हुने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।