वीरगन्ज–सर्लाही प्रहरीले नेपाली नक्कली नोटसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा सर्लाही प्रहरीबाट खटिएको टोलीले जाँच गर्दा नेपाली नक्कली नोटसहित ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
भारतबाट तीनवटा मोटरसाइकलमा आउँदै गरेका छ जनाबाट १ लाख ७६ नेपाली नक्कली नोट बरामद गरेको सर्लाही प्रहरी प्रवक्ता सरोज राईले बताए।
प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका–७ का सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ का रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७ निवासी दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ का रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२ निवासी सिहानता कुमारी देवीलाई पक्राउ गरेको जानकारी दिएको छ।
प्रहरीको विशेष टोलीले बा ४७ प ८७५७ नेपाली नम्बरको एउटा मोटरसाइकलसहित बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३९४९ नम्बरको तीनवटा भारतीय मोटरसाइकल बरामद गरेको छ।
मलंगवा नगरपालिका–८ स्थित गोरखकालीस्थित सडकखण्डमा जाँच गर्दा कार्टुनमा प्याक गरी ल्याउँदै गरेको १ हजार दरका १७६ थान नेपाली नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको विज्ञप्तिमा लेखेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले नोट साइजको सेतो बन्डल बनाइ बिचमा सादा सेतो पेपर राखी त्यसको तल र माथि एक/एक हजारको नेपाली नक्कली नोट राखेका थिए। उनीहरुले यसरी ८८ वटा बन्डल लिएर नेपाल आउँदै गरेको सर्लाही प्रहरी बताउँछ।
यसको साथै प्रहरीले उनीहरूको साथबमट चार थान मोबाइल पनि बरामद गरेको छ। पक्राउ परेका पाँच जना उपर मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।