काठमाडौं– पर्साको वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालयमै एक मिटरब्याज पीडितले आत्मदाह गर्ने प्रयास गरेका छन् ।
बाराको पचरौता नगरपालिका ४ घर भई हाल वीरगञ्ज २४, रामगढवामा बस्दै आएका करिब ६० वर्षीय बृजकिशोर प्रसाद साहले प्रशासन कार्यालयमै आत्मदाहको प्रयास गरेका हुन् ।
न्याय नपाएको गुनासो गर्दै साहले विषादी सेवन गर्नुका साथै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । शरिरमा आगो लगाउन खोज्दा देखेका सशस्त्र प्रहरीले रोकेका थिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साहलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लगिएको र उपचार भइरहेको जानकारी दिए । उनका अनुसार साहको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
घटनास्थलमा पीडित साहले लेखेको पत्र भेटिएको छ । जसमा लेखिएको छ, ‘एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरूको नाममा पास गरेको थिएँ । तर, जब मैले पैसा तिर्न खोजेँ, पीडकले जग्गा फिर्ता गर्न आनाकानी गरिरहेको छ । प्रहरी पनि उनकै पक्षमा देखिएको छ । त्यसैले आत्मदाहको बाटो रोज्न बाध्य भएँ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।