धनगढी– बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बालक घाइते भएका छन्।
आइतबार राति ११ बजेको समयमा खप्तड छेडेदह गाउँपालिका-५ को चिराल्नामा कच्ची सडक खण्डमा डोगडीबाट बुढिगंगातर्फ आउँदै गरेको भे२त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका-४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको हो।
रावतको ट्याक्टरको ट्रालीमुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
ट्याक्टरमा सवार मृतक चालकका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ट्याक्टर सवार अन्य दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।