सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयले तेस्रो दीक्षान्त समारोह आगामी फागुन २३ गते गर्ने भएको छ । विश्वविद्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो तेस्रो दीक्षान्त समारोह फागुन २३ गते शुक्रबार बिहान ११ बजे सुर्खेतस्थित केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा गर्ने जनाएको छ । २०६७ मा स्थापना भएको विश्वविद्यालयमा हाल ३ हजार ८४१ जना विद्यार्थीलाई अध्ययनरत छन् ।
तीमध्ये ८ सय ८५ जना विद्यार्थीले दीक्षान्त समारोहमा प्रत्यक्ष रूपमा सहभागिता जनाउनेछन् । विभिन्न संकायका स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहका विद्यार्थीलाई दीक्षित गरिनेछ । दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता रहनेछ ।
साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईको समुपस्थितिमा कार्यक्रम सम्पन्न हुने विश्वविद्यालयले जानकारी दिएको छ ।
यस समारोहमा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति तथा जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन् ।
दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिनेछ । स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका तीन जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट तीन जनालाई उपकुलपति पदक प्रदान गरिनेछ । त्यस्तै, स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जना गरी ३५ जना विद्यार्थीले प्रमाणपत्रसहित विशेष पदक प्राप्त गर्नेछन् ।
विश्वविद्यालयका अनुसार मानविकी तथा सामाजिक विज्ञान, शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि तथा पत्रकारिता संकायका विद्यार्थीहरूले दीक्षित हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।