काटमाडौं – नेपाल चिकित्सक संघमा स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षहरुको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ राष्ट्रपति रामचन्द्र पौडेलले विमोचन गरेका छन् ।
चिकित्सक संघ स्थापनाको ७५ वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले संघले प्रकाशन गरेको पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा संघका ३२ जना अध्यक्षहरुको जीवनी, संघमा उनीहरुले गरेका योगदान, संघर्ष लगायतका विषयहरु समावेश छन् ।
पुस्तक विमोचनपछि राष्ट्रपति पौडेलले दक्ष र विज्ञ चिकित्सकहरु नेपालमै उत्पादन हुनु र नेपालमै स्तरीय स्वास्थ्य सेवा उपचारको थालनी हुनु सुखद पक्ष रहेको बताए । उनले स्तरीय उपचार सेवाको अनुभव आफूले पनि अनुभव गरेको जानकारी दिए ।
राष्ट्रपति पौडेलले नेपालमा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यस अनुसार अवसरहरु सिर्जना नभएकोमा चिन्ता व्यक्त गरे । ‘जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको छ । त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो । यसका रोक्न सम्बद्ध पक्षले अधिकतम कदम चाल्नुपर्दछ,’ कार्यक्रममा राष्ट्रपति पौडेलले भने ।
संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले चिकित्सक संघसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकहरुको सम्मान र स्मरण दुवै हुने भन्दै संघले यो पुस्तक प्रकाशनको निर्णय लिएको हो ।
दुई सयभन्दा बढी पृष्ठको उक्त पुस्तकको सम्पादक प्रवीण ढकाल हुन् ।पुस्तकबाट संघको इतिहाससँगै नेपालको चिकित्सा इतिहासको संरक्षण हुने कुरामा आफू ढुक्क रहेको सम्पादक ढकालले जानकारी दिए । ‘यसले नेपालको चिकित्सा क्षेत्रको विकासक्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने छ। यसका साथै नयाँ पुस्ताका चिकित्सकहरुलाई पनि अग्रजहरुले गरेका काम र योगदानका विषयमा जानकारी हुने छ,’ ढकालले भने । उनले अहिलेको नयाँ पुस्ताका चिकित्सकलाई अनुभवी चिकित्सकहरुको जीवनी र योगदानले प्रेरणा प्रदान गर्ने पनि बताए ।
२००७ साल फागुन २० गते स्थापना भएको नेपाल चिकित्सक संघ नै नेपालको पहिलो पेशागत संघ हो । वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकहरुले बैठकले संघको स्थापना गर्ने निर्णय गरेका थिए । संघको पहिलो अध्यक्ष डा. सिद्धिमणि आचार्य दीक्षित हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।