काठमाडौं– थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेको छ।
थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो।
पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ। सडकपेटीमा पनि क्षति पुगेको छ। सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन्।
वरपरका पसलहरुमा पानीको भेल पसेको छ। सो क्षेत्रमा रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरु छन्। केही पसल र रेष्टुरेन्टहरुमा भेल पसेर जलमग्न भएको छ। घरका भुइँतला डुबानमा परेका छन्।
आज बिहान करिब पाँच बजेतिर पाइप फुटेको बताइएको छ। पाइप फुटेको थाहा पाउनासाथै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने पाएन।
पाइप फुट्नुको कारण भने खुलिसकेको छैन। मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अधिकारीहरु सम्पर्कमा आएका छैनन्।
यसअघि माघ ३० गते काठमाडौंको बिजुलीबजार–बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो। त्यतिबेला सो क्षेत्रमा रहेका वन कार्यालय लगायतका सरकारी कार्यालयहरु जलमग्न भएका थिए। अदालतको इजलास नै स्थगित गर्नुपरेको थियो।
बबरमहल क्षेत्रको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको भूमिगत तार बिछ्याउने क्रममा मेलम्चीको ठूलो पाइपमा क्षति पुगेको थियो। अर्को दिन नै पाइप मर्मत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।