काठमाडौँ – प्रहरीले सालकको खपटा सहित दुई जनालाई पक्राउ गरेको छ । अवैधरूपमा वन्यजन्तु सालकको खपटा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले बाजाजुबाट खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका–२ का २९ वर्षीय उमेश तामाङ र सिन्धुलीको तिनपाटन गाउँपालिका–६ का ३० वर्षीय मोहन पुलामी मगरलाई पक्राउ गरेको हो ।
तामाङले बोकेको झोलाभित्र सात सय ७० ग्राम सालकको खपटा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।