भारदह– सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोल वस्तीमा सोमबार बिहान बाघ पसेको छ। बाघको आक्रमणबाट स्थानीय दुई जना घाइते समेत भएका छन्।
अन्दाजी ४३ वर्षका कृष्ण विष्ट र ५५ वर्षका गणेश खत्री घाइते भएका हुन्। उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर उदय कुमार राईले जानकारी दिए।
उनका अनुसार आज बिहान सात बजेतिर बस्तीमा बाघ पसेको जानकारी प्रहरीले पाएको थियो। त्यसलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली वस्तीमा परिचालित भएको थियो।
उक्त बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाट नै बस्तीमा आएको अनुमान छ। उक्त बाघलाई जंगल क्षेत्रमै फर्काउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।