काठमाडौं – केपी ओली कपको फाइनलमा साविक विजेता मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने भएका छन् ।
दशरथ रंगशालामा आफ्नो लागि दुर्लभ जस्तै फाइनलमा आर्मी मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ । आर्मीले यो वर्ष खेलेको चौथो प्रतियोगिता पहिलो फाइनल खेल्दैछ भने मच्छिन्द्र यो वर्ष चौथो फाइनल खेल्दैछ ।
इटहरी गोल्डकप जितेको मच्छिन्द्रले पाँचथर गोल्डकप र गत साता बागमती गोल्डकपको फाइनल खेलेको थियो । गत वर्ष पहिलो पटक आहा रारा पोखरा गोल्डकप जितेको आर्मीले त्यस चौथो प्रतियोगिता खेलिरहेको छ । आर्मीले प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले र सेमिफाइनललाई संकटालाई २–१ ले हराएको थियो । मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड १–० ले सेमिफाइनलमा आयोजक केपी ओली एफसी ४–० लाई हराएको थियो ।
आर्मीका प्रशिक्षक मेघराज केसी पछिल्लो एक वर्ष युवा खेलाडीलाई तयार पारेर टोली निर्माण गरेको र अब नतिजा दिने बेला आएको बताए । ‘आर्मीले लिगको तयारी गरेर टोली तयार गरेको थियो । तर लिग भएन । यो बिचमा हामीले नयाँ खेलाडीलाई तयार गर्ने अवसर पायौं । त्यसका लागि एन्फालाई पनि धन्यवाद,’केसीले भने,’हामी पछिल्लो केहि समयदेखि नतिजा दिन सकेका थिएनौं । अब नतिजा दिने बेला आएको छ ।’ मच्छिन्द्र आफै उत्कृष्ट छ टोली रहेको जनाउँदै केसीले उनीहरुको कमजोरीमा प्रहार गरेर जित्न प्रयास गर्ने बताए ।
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले विपक्षी टोलीलाई कमजोर नसोच्ने जनाउँछ आर्मी बलियो र लयमा रहेको बताए । मच्छिन्द्रका कप्तान एवम् गोलकिपर विशाल श्रेष्ठले टोली सन्तुलित रहेको र जित्नका लागि प्रयास गर्ने बताए । सोमबार हुने फाइनल हेर्न इटालीका पूर्व कप्तान एवम् गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथिको रुपमा नेपाल आइसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।