जनकपुरधाम– सामूहिक बलात्कारपछि मृत्युवरण गरेकी सिरहा, नवराजपुरकी रिंकु सदायको घर पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड आज विहान नवराजपुर गाउँपालिका ५ भगवतीपुरस्थित रिंकुको घर पुगेर पीडित परिवारको अबस्था र घटनाबारे जानकारी लिए। सो क्रममा प्रचण्डले घटना अत्यन्त दुःखद् रहेको भन्दै जसरी पनि न्याय दिलाएर छाड्ने आश्वासन दिए।

रिंकुकी सानीआमा श्रीवतीले प्रचण्डलाई भनिन्, ’रिंकुले न्याय पाउनुपर्छ। र, दोषीमाथि कारबाही हुनुपर्छ।’ उनले चार दिनसम्म लाश लिएर अलन्तारमा परेको पीडा पोखिन्। उनले पोस्टमार्टम रिपोर्ट पनि दिन नमानेको गुनासो गरिन्।
प्रचण्डले तपाईको माग जायज रहेको र दोषीलाई कारबाहीका लागि आफूपनि संघर्ष गर्ने बताए। उनले भने, ’जाहेरी परिसकेको छ। पुलिस पनि खोज्दैछन्। हामीले पनि छिटो खोजेर कारबाही गर्न पुलिसलाई भन्छौं।’
तराई–मधेस जागरण अभियान अन्तर्गत शुक्रवार राति सिरहा पुगेका प्रचण्डसहितका नेताहरु आज रिंकुको घर पुगेका थिए।

रिंकु मृत्यु प्रकरणमा प्रहरीले अहिले कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा अनुसन्धान गरिरहेको छ। गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन्।
त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो। माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन्।
पीडित परिवारले बलात्कार आरोपमा तीन किशोर र पंचायत गरेका पाँच पञ्चमाथि किटानी जाहिरी दिएका छन्। तर आरोपी कोही पक्राउ पर्न सकेका छैनन्। प्रहरीले जाहेरी बाहिरका तीन पञ्चलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।