सुर्खेत – सुर्खेतमा शुक्रबार दिउँसो भएको फोर्स गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लुबाट सुर्खेत सदरमुकाम वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते सुर्खेतकी भावना लामिछानेको मृत्यु भएको हो ।
कर्णाली राजमार्गको वीरेन्द्रनगर–२ घोडालोटेमा भएको दुर्घटनामा घाइते बराहताल गाउँपालिका–५ सुर्खेतका २८ वर्षीय लामिछानेको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए ।
माया नर्सिङ होममा उपचार भइराखेकी लामिछानेको थप उपचारका लागि प्रदेश अस्पताल रिफर गरिएको थियो । मानसिक परामर्श सम्बन्धीको कार्यक्रममा सहभागी हुने वीरेन्द्रनगर आउँदै गरेका भावना सहित बड्डीचौरबाट सोही ठाउँकी ४२ वर्षीय मनिषा लामिछाने र ३३ वर्षीय सुनिता रिजालले गाडी चढेका थिए ।
मनिषा र रिजालसमेत घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको र प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा अन्य घाइते १२ जनाको सुर्खेत स्थित कर्णाली केयर, प्रदेश अस्पताल लगायतका क्षेत्रमा उपचार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।