काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका– ३ स्थित लौठचौरमा निर्माण हुने भनिएको कर्णाली हाई अल्टिच्युट ट्रेनिङ सेन्टरको काम तालिम केन्द्रको नाममा जग्गा पास नहुँदा रोकिएको छ।
विद्यालयको नाममा रहेको जग्गामा सो सेन्टर निर्माण गर्ने कि अर्को ठाउँमा निर्माण गर्न विषयमा विवाद हुँदा अहिले निर्माण अघि नबढेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिएका हुन्।
जग्गा विवादको विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय बैठकबाट निर्णय गरेर छिट्टै जग्गा विवाद टुङ्गोमा पुर्याएर ट्रेनिङ निर्माणको काम अगाडि बढ्ने गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ। जग्गा विवाद देखाएर सरकारबाट विनियोजन भएको बजेट सदुपयोग गर्न नदिने खेल भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको आरोप छ।
विश्वको सर्वाधिक उचाइमा धान फल्ने पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य ट्रेनिङ सेन्टरले लिइएको गाउँपालिका उपाध्यक्ष रोकायाको भनाइ छ। विभिन्न चरणमा गरेर सरकारको करिब ३ करोड ट्रेनिङ सेन्टर निर्माणमा खर्च भइसकेको छ। ट्रेनिङ सेन्टरलाई चाहिने जग्गा पालिका वडा नं ३ का स्थानीयवासीले निःशुल्क दान गर्ने प्रतिबद्धता जनाएको हुँदा उक्त जग्गा पासको प्रक्रिया अघि बढेको वडाध्यक्ष गोविन्द रावतले जानकारी दिए।
चालु आर्थिक वर्ष २०८१-८२ मा ६ करोड २९ लाख बजेट विनियोजन भएको छ। स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेतमा चार करोड र सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लामा दुई करोड २९ लाख ३० हजार बजेट ट्रेनिङ सेन्टरको नाममा विनियोजन भएको आयोजनाका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।