काठमाडौं – सशस्त्र प्रहरी बलको एपिएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा पुगेको हो ।
एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलको ट्राइब्रेकरमा ब्ल्याक बुल्सलाई ४–३ ले हराउँदै एपिएफले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो खेलमा पराजित भएको ब्ल्याक बुल्सले गत माघमा पोखरामा भएको २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो । अब एपिएफले सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग खेल्नेछ ।
निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा एपिएफका गोलकिपर एन्जल श्रेष्ठ नायक बने । उनले ब्ल्याक बुल्सका दुई प्रहार बचाउँदै खेल आफ्नो पक्षमा पारे ।
फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि सुरू भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।