काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले लक्ष्यअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गर्न नसकेको स्वीकार गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बौल्दै मन्त्री दाहालले स्मार्ट कार्ड वितरणमा मन्त्रालयले प्रगति गर्न नसकेको स्वीकार गरेका हुन्।
उनले चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक समीक्षाका क्रममा भौतिक मन्त्रालयको प्रगति ७.९ प्रतिशत मात्रै आएको कारण मन्त्रालयको नाम नै प्रगतिको आधारमा ७.९ राखिएको भए पनि आफूहरु निराश नभएको बताए। उनले बुटवल–नारायणगढ र मुग्लिङ–पोखरा सडकखण्ड निर्माणमा उल्लेख प्रगति भएको दाबी गरे।
उनले भने, ‘स्मार्ट लाइसेन्स चाँही हामीले ९ लाख छापेर दिने भनेका रहेछौँ। तर हामीले १ लाख ६९ हजार ४ सय ३९ मात्र दिन सकेका रहेछौँ। यो हाम्रो पुवर प्रगति हो। हामीले पानी जहाज विधेयक संसदमा पेश गर्ने भनेका रहेछौँ। त्यो हामीले पेश गरेका छौं। यसबीचमा हामी विपद्को लागि कामहरु गरेका छौं। यसको चाँही मूल्याङ्कन नै नगर्ने त? अहिले त भौतिक पूर्वाधार मन्त्रालयको नाम नै ७.९ भयो क्या। यस सवालमा म निराश भएका छैन। हामीले धेरै कामहरु गरेका छौँ। काम गर्ने प्रयत्न गरेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।