काठमाडौं–नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ५१ वटा संशोधन दर्ता भएका छन्।
गृह मन्त्रालयले १५ माघमा प्रतिनिधिसभा दर्ता गराएको विधेयकमा ५ माघमा सैद्धान्तिक छलफल भएको थियो।
छलफलपछि सभाले विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको ७२ घण्टाको संशोधन राख्ने समयमा सांसदहरूबाट ५१ संशोधन प्रस्ताव दर्ता भएको प्रतिनिधिसभा विधेयक शाखा प्रमुख त्रिविक्रम पराजुलीले बताए।
प्रस्तावित ऐनको मस्यौदामा रहेका कतिपय विषयहरुलाई सच्याउनुपर्ने भन्दै सांसद् मैना कार्की, प्रेम सुवाल, विमला सुवेदी, शेरबहादुर कुँवर, प्रकाश जवाल, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, भानुभक्त जोशी, जनार्दन शर्मा लगायतले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
गृहमन्त्री रमेश लेखकका अनुसार संविधानले परिकल्पना गरेबमोजिम प्रहरी संगठनलाई प्रादेशिक क्षेत्राधिकार तथा प्रदेश प्रहरीसम्म विस्तारसहितको संवैधानिक मर्मअनुकूल हुने गरी व्यवस्था गर्न तथा प्रहरीका सम्बन्धमा विश्वका अन्य देशहरूले अपनाएका असल अभ्याससमेत अनुकरण गरी प्रहरीको सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाई मुलुकमा शान्ति, सुरक्षा कायम गरी अमनचयन हासिल गर्नका लागि विधेयक संसदमा पेस गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।