इटहरी– प्रदेश १ को स्थायी राजधानी टुंगो लाग्न नसकिरहेका बेला प्रदेश सांसदहरु असुरक्षा बढेको बताउन थालेका छन्। असोज ४ गते खुर्सीद आलमको हत्या भएसँगै प्रदेश सांसदहरु सशंकित देखिन थालेका हुन्। सामान्य जनता त असुरक्षित भइरहेको समयमा सीमावर्ती क्षेत्रमा राजधानी तोकिनु दुभाग्यपूर्ण हुने उनीहरुको भनाइ छ।
_x000D_
_x000D_
सत्तापक्षीय सांसद सर्वध्वज सावाँ सुरक्षाको हिसाबमा विराटनगर चुनौतीपूर्ण रहेकोले इटहरीदेखि उत्तरतिरै राजधानी बनाइनुपर्ने बताउँछन्। एक निहत्था जनताको हत्या भइरहने सीमावर्ती क्षेत्रमा सांसदहरू असुरक्षित हुने भएकोले राजधानी सार्नुपर्ने उनको तर्क छ।
_x000D_
_x000D_
अन्तर्राष्ट्रिय अभ्यासभन्दा बाहिर गएर सीमावर्ती क्षेत्रमा राजधानी बनाउँदा भोलि सीमा विवादलगायत वैदेशिक हस्तक्षेप हुनसक्ने भएकोले त्यसबाट बँच्नको लागि पनि इटहरीलाई राजधानी बनाउनुपर्ने उनको भनाइ छ।
_x000D_
_x000D_
कांग्रेस सांसद चन्द्रप्रसाद श्रेष्ठ पनि विराटनगरभन्दा बाहिर राजधानी हुनुपर्ने पक्षमा देखिन्छन् । विराटनगरमा सुरक्षा संवेदनशीलता बढेकोले धरान राजधानी बनाउनुपर्ने उनको तर्क छ। भौगोलिक तथा सुरक्षाको हिसाबमा पनि धरान उपयुक्त भएकोले इटहरीदेखि उत्तर राजधानी बन्नुपर्ने उनको माग छ। खुर्सीदकै जसरी सांसदको हत्या भए त्यसको जिम्मा कसले लिन्छ? उनी प्रश्न गर्छन्।
_x000D_
_x000D_
सत्तापक्षकै सांसद लिलम बस्नेत पनि विराटनगरबाहिरै राजधानी हुनुपर्ने पक्षमा लागेका छन्। राजधानी भनेको सबैलाई पायक पर्ने स्थानमा हुनुपर्ने भन्दै इटहरी तथा आसपासको क्षेत्रलाई समेटेर राजधानी बनाउनुपर्ने उनको भनाइ छ। ‘खुर्सीद आलम जस्ता जनता असुरक्षित भइरहेको समयमा प्रदेश सांसद कसरी सुरक्षित हुनसक्छन्?,’ उनी प्रश्न गर्छन् । त्यसैले पनि विराटनगर बाहिर राजधानी लैजानुपर्ने उनको भनाइ छ।
_x000D_
_x000D_
सांसदहरुको फरकमत सार्वजनिक भइरहँदा मुख्यमन्त्री शेरधन राई भने सबैलाई न्याय हुनेगरी राजधानी घोषणा हुने बताउँछन्। विराटनगरलाई नै स्थायी राजधानी बनाउनेभन्दा बृहत्तर विराटनगर बनाएर राजधानी बनाउन सकिने उनको भनाइ छ। विराटनगर, इटहरी, धरानलगायत मुख्य सहरलाई समेटेर बृहत्तर विराटनगर बनाउने पक्षमा मुख्यमन्त्री देखिएका छन्।
_x000D_
_x000D_
अन्य मन्त्री भने राजधानीको विषयमा खुलेर नबोले पनि भित्रभित्रै लविङ गरिरहेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की गृहजिल्ला झापामा राजधानी लैजाने सम्भावना नदेखेपछि विराटनगरकै पक्षमा देखिएका छन्। विराटनगरको लागि सम्पूर्ण संरचना बनिसकेकाले राजधानीको विषयलाई धेरै पेचिलो बनाउन जरुरी नहुने उनको भनाइ छ।
_x000D_
_x000D_
विराटनगरबाटै निर्वाचित भएका सामाजिक विकाश मन्त्री जीवन घिमिरे विराटनगरबाहिर राजधानी लैजान नहुने पक्षमा उभिएका छन्। उनी आफ्नै पार्टीभित्र मात्रै हैन, प्रमुख प्रतिपक्षीसँगको भेटघाटमा पनि राजधानी सार्न नहुने बताउँदै आएका छन्।
_x000D_
_x000D_
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो राजधानीको बारेमा औपचारिक रूपमा मौन छन्। तर अनौपचारिक रूपमा भने विराटनगरकै पक्षमा लविङ गरीरहेका छन्।
_x000D_
_x000D_
कतिपय सांसदले भने राजधानी सार्नको लागि भेला नै सुरु गरेका छन्। सांसदहरू राजधानी विराटनगरमै राख्नुपर्ने वा बाहिर लैजानेबारे दुई ध्रुवमा विभाजित छन्। तर, विराटनगर आसपासका सांसद र केही मन्त्रीबाहेक धेरैजसो सांसदहरु विराटनगरबाहिर राजधानी लैजानुपर्ने पक्षमा देखिएका छन्।
_x000D_
_x000D_
कांग्रेस संसदीय दलका नेता राजीव कोइराला भने राजधानीको विषय धेरै पेचिलो नभएको बताउँछन्। सरकारले संसद्मा प्रस्ताव लैजान ढिला गरिरहेकोले कांग्रेसले आफ्नो आधिकारिक धारणा बनाउन नसकेको उनको भनाइ छ।
_x000D_
_x000D_
उता विराटनगरका उद्योगी–व्यापारीले भने प्रदेश सांसद र मन्त्रीलाई भेटेरै राजधानी नसार्न आग्रह गरिरहेका छन्। असोज १४ गते संयुक्त विज्ञप्ति जारी गर्दै मोरङ व्यापार संघ र उद्योग संघ मोरङले विराटनगरबाहिर राजधानी लैजाने प्रसास भइरहेकोले त्यसलाई रोक्नुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।