सुनसरी - १५ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सगरमाथा युथ क्लब मोरङ र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । बिहीबार सेमिफाइनलमा सगरमाथा युथले धरान फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै मछिन्द्रसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
इटहरी रंगशालामा भएको खेलमा सगरमाथालाई तेस्रो पटक फाइनल पुर्याउन कुलदीप कार्कीले निर्णायक गोल गरेका थिए । उनले खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
२६ औं मिनेटमा धरानका विक्रम धिमालले सगरमाथाका सुशील राईमाथि फाउल खेलेपछि प्राप्त पेनाल्टी अवसरलाई कुलदीपले खेर फालेनन् । गोलपछि रेफ्री कविन व्यञ्जनकारको पेनाल्टी दिने निर्णयप्रति धरानका प्रशिक्षक हेम गुरुङ र खेलाडीले असन्तुष्टि जनाउँदै विवाद गर्दा खेल १० मिनेट अवरुद्ध भएको थियो ।
सगरमाथा र मछिन्द्रबीचको फाइनल शनिबार हुनेछ । मछिन्द्र यसअघि नै युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) भारतलाई ३–१ ले पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।