काठमाडौं – प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन खुलेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार नागरिकले फागुन मसान्तसम्म निवेदन दिन सक्ने श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार इच्छुकले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्ने भएका छन्। न्यूनतम रोजगारमा संलग्न भई सामुदायिक विकास निर्माणका काममा योगदान दिन १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकले यस्तो निवेदन दिन सक्नेछन्।
निवेदनका साथ नागरिकताको प्रतिलिपि, तस्वीर, कुनै सिपमूलक तालिम लिएको भए त्यसको प्रमाणपत्र, एकल महिला वा अपांगताको प्रमाण खुल्ने कागजात अनिवार्य गरिएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले स्थानीय तहमार्फत खर्च गर्ने गरी बजेट विनियोजन गर्दै आएको छ। चालु आवका लागि सरकारले २ अर्ब रुपैयाँ विनियोजन गरेको छ। यसको स्रोत नेपाल सरकार स्वयंले बेहोर्ने गरी तोकिएको छ।
यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप ८६ हजार जनाका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य छ। यो कार्यक्रम स्थानीय तहबाट रोजगारमूलक आयोजना सञ्चालन गरेर न्यूनतम रोजगारी उपलब्ध गराउने गरी ७ सय ५३ स्थानीय तहमा हस्तान्तरण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।