काठमाडौं– कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढाउने सहमति भएको छ।
गृहमन्त्रालयमा शुक्रबार गृहमन्त्री रमेश लेखक, गृहसचिव र प्रधानमन्त्रीसहितको उच्चस्तरीय बैठकबाट मझगाउँ विमानस्थलको काम अघि बढाउने सहमति भएको हो।
बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमति भएपछि योजनाले गति लिने विश्वास गरिएको छ।
२०७८ माघमा विमानस्थल पुनर्निर्माणका लागि ठेक्का भएको थियो भने हाल एक हजार तीन सय मिटर विमानस्थलको रन्वे कालोपत्रे हुने चरणमा पुगिसकेको छ। विमानस्थल विस्तार गर्न दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमति हुन नसक्दा निर्माण विमानस्थल विस्तार प्रभावित हुँदै आएको थियो।
बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, रक्षामन्त्री मानबीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले विमानस्थल निर्माणका लागि अवरोध हटाएर अघि बढ्ने विषयमा सकरात्मक हुनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।