२०४६ सालको माघ महिना, गणेशमानको चाक्सीबारीस्थित घरमा भारतीय नेता चन्द्रशेखर पञ्चायती व्यवस्था विरुद्ध हाम्रा नेतालाई उक्साउन आउँदा म भर्खर एसएलसी पास गरेर कलेज पढ्न काठमाडौं छिरेको मात्र थिएँ। त्यतिबेलै पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसको झण्डामुनि आवद्ध आफ्नै दाजुको मौन प्रभावले अनायसै म कांग्रेस बनेछु। विभिन्न नाममा विभाजित कम्युनिष्ट पार्टी पनि वाममोर्चा बनाएर कांग्रेससँगै आन्दोलनमा उत्रँदै थिए। दुई महिनाको आन्दोलनले बहुदलीय व्यवस्था पुनःस्थापित भयो।
_x000D__x000D_
समाज विस्तारै कांग्रेस र कम्युनिष्ट ध्रुवमा विभाजित हुन थाल्यो। कांग्रेसको सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो। कांग्रेसले कल्पना गरेको व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार, सम्पत्तिको अधिकार, राजनीतिक पार्टी खोल्ने अधिकार हुन्छ भन्ने बुझेर म कांग्रेस बनेको हुँ। अर्कोतर्फ कम्युनिष्ट व्यवस्थामा पार्टीको अधिनायकत्व हुन्छ, प्रजातान्त्रिक व्यवस्थामा जस्तो मानव अधिकार र पूर्ण स्वतन्त्रता हुँदैन। सबै जनता राज्यको नियन्त्रणमा हुन्छन् भन्ने सतही कुराले पनि मलाई कम्युनिष्ट बन्न दिएन।
_x000D__x000D_
थोरै बुझे पनि कांग्रेसका नेताको भाषणमा ताली बजाउन र जस्तोसुकै उम्मेदवार भए पनि आँखा चिम्लेर रुख चिन्हमा छाप लगाउन थालियो। २०४८ मा कांग्रेसले सरकार बनाएपछि कांग्रेसको आन्तरिक झगडाबाट देशमा राजनीतिक अस्थिरता सुरु भयो। २०५१ मा संसद् विघठन भयो। २०५२ मा माओवादीले हिंसात्मक युद्ध शुरु ग¥यो। एमालेले अल्पमतको सरकार बनायो। त्यो पनि टिकेन। २०५६ मा फेरि कांग्रेसले नेतृत्व लियो। २०५९ मा राजा ज्ञानेन्द्रले कब्जा गरेकोे सत्ता २०६२÷६३ को आन्दोलनबाट पुनःस्थापित भयो। संविधानसभाको चुनाव दुई पटक भयो। तत्कालीन एमाले, माओवादी र कांग्रेसले पालैपालो मिलेर सरकार चलाए।
_x000D__x000D_
यो अवधिमा सामान्य आर्थिक अवस्थाबाट जिल्लाजिल्लाबाट सांसद/सभासद् भएर राजधानी छिरेका अधिकांश नेता काठमाडौंमा घरघडेरी, गाडी, बंगला जोड्दै संभ्रान्त बने। राजदूत, विश्वविद्यालयका पदाधिकारी, न्यायाधीशलगायतका लाभकापदहरु आर्थिक चलखेल सहितको भागबन्डामा लिप्त भयो कांग्रेस। चुनाव चिह्न ‘रुख’ व्यापारी, माफिया, ठेकेदार र आफन्तहरुको पूर्वाधिकार बन्न पुग्यो। सत्ताको फोहोरी खेलमा लिप्त भइसकेको कांग्रेसलाई विस्तारै उसैका संस्थापक गणेशमान र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरुले त्याग्दा पनि उनीहरुको विरुद्धमा उभिन मन मानेन किनकि कांग्रेस प्रजातन्त्रको मसिहा थियो र म उसको खाँटी चेलो थिएँ।
_x000D__x000D_
विकल्प खोजिरहने मेरो मनलाई नेपालका कम्युनिष्ट कहिल्यै विकल्प बनेनन्। तत्कालीन एमाले सदैव नक्कली कम्युनिष्टजस्तो लाग्थ्यो। कताकता कांग्रेसको सबैथरी विसंगतिको सिको गर्दै अघि बढ्ने ‘भाइकांग्रेस’ जस्तै। हत्या र हिंसाको सहाराबाट राजनीतिमा हावी हुन खोज्ने माओवादी पार्टीलाई मेरो मनले कहिल्यै सानो ठाँउ पनि दिएन।
_x000D__x000D_
२०६० फागुन ३ गते माओवादी हत्याहिंसाविरुद्ध आफ्नै पार्टीभन्दा माथि उठेर संगठित हुने आफ्नै दाजुको काठमाडौंमा हत्या भएपछि फेरि म चर्को कांग्रेस बन्न पुगें। त्यसपछि अर्को चौध÷पन्ध्र वर्ष अधिकांश समय कांग्रेस सरकारको नेतृत्वमा रह्यो। कांग्रेसको मूल मन्त्र राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कागजको खोस्टोमा मात्र सीमित भयो। विदेशी शक्तिको चलखेलमा चल्ने राष्ट्रियता, सत्ताको आडमा मनपरी गर्ने प्रजातन्त्र, निजीकरण र उदारीकरणको नाउँमा फस्टाउँदोे समाजवादसहित कांग्रेस एउटा संभ्रान्तहरुको कम्पनी बन्यो। जति सक्छौं लुटौं, खाआंै र अर्को चुनावमा हुने करोडौं खर्चको जोहो गरौं भन्ने संंस्कृतिको नेतृत्व गर्दै एमाले र माओवादीलाई पनि पछि लगाउन सफल भयो कांग्रेस।
_x000D__x000D_
बिपी कोइरालाको नाम जप्दै राजनीति गर्ने कांग्रेसका नेताहरुले भाषणमा धेरैपटक भनेको सुनेको थिएँ- बिपीले प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको भित्तामा एउटा हलो जोतिरहेको किसानको तस्बिर झुन्ड्याएर राख्न र त्यसैलाई हेरेर देशको भावी योजना बनाउन भन्नुभएको थियो रे। उहाँकै अनुयायी भन्नेहरुले उहाँको आसयलाई समयानुकुल परिमार्जन गरी लागू गर्न आवश्यक ठानेनन्। एक हल गोरु, एक हलको मेलो, एउटा दुहुनो गाईको सान्दर्भिकता देशमै गरिखाने व्यवस्था हो भन्ने कांग्रेसले कहिल्यै बुझेन। बदलिंदो सन्दर्भमा दुबई, कतार वा साउदी अरबको पचास डिग्री तापक्रममा भेडा चराइरहेको एउटा निम्नवर्गीय युवा, काखको दुधे बच्चा र परिवार छोडेर इजरायलमा हाउस मेडको रुपमा काम गरिरहेकी युवतीको पीडा सम्झेर देशमै गरिखाने वातावरण बनाउनु हो भन्ने कांग्रेसले पत्तै पाएन।
_x000D__x000D_
तैपनि, कांग्रेस सुध्रिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो। तर, कांग्रेसको नेतृत्व बारम्बार गल्ती गर्दै अघि बढिरह्यो। मजस्ता शुभचिन्तक चुपचाप पछि लागिरह्यौं भने नेताहरुले सुध्रने आवश्यकता नै ठानेनन्। नेता भनेका ती हुन् जो सकेसम्म आफ्नै विवेकले सुध्रँदा रहेनछन्। जबसम्म अघिपछि, बिहानबेलुका, जयजयकार गर्दै पछिलाग्ने भीड देख्दछन्, आफ्ना गल्तीलाई ढाकछोप गरिदिने अन्धभक्त कार्यकर्ता पाउँछन् र चुनावमा बाउबाजेको खानदानी पार्टी ठानेर भोट हाल्नु आफ्नो पैतृक धर्म ठान्ने पुस्ता पाइरहन्छन्, उनीहरु केका लागि सुध्रने?
_x000D__x000D_
हो, म बुझेर पनि, नबुझेर पनि कांग्रेस भएँ। भरपर्दो विकल्प नपाएर पनि कांग्रेस रहें। जब धैर्यको बाँध टुट्यो र आफ्नै जीवनमा गरिखान पाइने देश बनेको हेर्ने रहर पलायो, आवधिक निर्वाचनमै सही एकोहोरो भोट हालेर नेतृत्वको राजनीतिक बेइमानीको साक्षी बसिरहन मानेन यो मन। जीवनभर गल्ती दोहो¥याइरहने र देश–जनताको खातिर व्यक्तिगत त्याग गर्न नसक्ने नेताहरुको पकड भएको पार्टीलाई छोडेर वैकल्पिक पार्टीमा आवद्ध हुँदा कांग्रेस भएकैले मारिनुभएका मेरा दाजुको आत्माले पनि मलाई धिक्कार्दैन भन्ने ठान्दछु।
_x000D__x000D_
यो देश अरु कसैले बनाइदिंदैन। राजनीति र नेतालाई जति सत्तोसराप गरे पनि आखिर हाम्रो देश हामीले नै बनाउने हो। अरुलाई गाली गर्दै र तिनैलाई भोट हाल्दै बस्नुभन्दा अब एकपटक इमान्दार प्रयास गरौं भन्ने वैकल्पिक पार्टीको जन्म र मेरो कांग्रेसप्रतिको मोहभंग मेरो जीवनको एउटा महत्वपूर्ण संयोगजस्तो लाग्छ। जनतालाई हिंसा, धम्की, चन्दा, आतंक, जबरजस्ती, बन्द, हड्तालजस्ता कुनै पनि प्रकृतिका दुःख नदिई शान्तिपूर्वक विचार र चेतनाको माध्यमबाट राजनीति गर्ने यो नवजात पार्टीले विस्तारै नेपालीको मन जित्नेमा सन्देह छैन।
_x000D__x000D_
अन्तमा, कांग्रेस नेतृत्वले राष्ट्रियता लम्पसारवादमा, प्रजातन्त्र मनपरितन्त्रमा र समाजवाद लुटतन्त्रमा परिणत गरिसकेपछि अब आफूलाई सच्चा प्रजातन्त्रवादी ठान्नेहरुले वैंकल्पिक प्रजातान्त्रिक पार्टीलाई नजिकबाट हेर्ने दिन आएकै छ। अबको आन्दोलन तोडफोड र हत्या–हिंसाको होइन, आफ्नै मनसँग आफैंले विद्रोह गर्ने आन्दोलन हो। आफ्नै मन र मत परिर्वतन गर्न नसके देश परिर्वतनको आशा किन गर्ने?
_x000D__x000D_
चिलुवाल विवेकशील साझा पार्टीका विदेश मामिला विभाग सदस्य हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।