काठमाडौं– सोमबार पनि नेप्से परिसूचक उच्च अंकले घटेको छ। आइतबार ४७.४४ अंक र सोमबार ५७.९९ अंक गरी दुई दिनमा नेप्से १०५.४३ अंकले घटेको छ।
आज २.१४ प्रतिशतले घटेर २६३९.९२ विन्दुमा बन्द भएको छ। सोमबार कारोबार रकममा पनि गिरावट आएको छ। गत कारोबार दिन अर्थात् आइतबार आठ अर्ब १८ करोडको कारोबार भएकोमा यसदिन पाँच अर्ब ९० करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब २८ करोड रूपैयाँ कमी आएको हो। आज ३१९ वटा धितोपत्रको एक करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच भएको हो।
सोमबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२१ वटाको घटेको छ। यसदिन विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ८६६ रूपैयाँ कायम भएको छ।
यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.८२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९१४ रूपैयाँ ८० पैसा पुगेको छ। यस्तै, ङादी ग्रुप पावरको मूल्य सर्वाधिक ९.२० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४७४ रूपैयाँमा झरेको छ।
गुडविल फाइनान्सको मूल्य ५.६५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३७ रूपैयाँ कायम भएको छ।
सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ८५५ रूपैयाँमा २२ करोड तीन लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४७४ रूपैयाँमा १७ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ भने दोस्रोमा अन्य समूहको परिसूचक २.३४ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।