सय करोडको नेपाली वक्सअफिस!
वर्तमान सन्दर्भमा यो अपेक्षा एउटा अति सुदूर र तत्काल कल्पना नगरिएको सोच हो।
तर असम्भव भने होइन। आजको आधुनिक समाजको यो स्वरुप, कुनै समय सम्भव होला र? भन्ने आममानिसको प्रश्नकाबीच केही भविष्यप्रति आशावादी दुस्साहसी मानिसहरुको सोच, हिम्मत र प्रयासले सम्भव भएको हो।
उदाहरणका लागि एक ठाउँबाट अर्को ठाउँमा चराझैं उडेर पुग्न पाए भन्ने स्वैरकल्पनालाई कैंयौंले साकार पार्ने प्रयास गरे र अन्ततः राइट दाजुभाइले सम्भव तुल्याइछाडे। यो उडान सपनाले हाल अन्तरिक्षसमेत छेडिसकेको छ। चरीझैं उड्ने कल्पना साकार भएझैं नेपाली सिनेमाको सय करोडको वक्सअफिस वर्तमानमा एउटा सुन्दर कल्पनामात्र मान्न सकिएला तर सही कार्ययोजना तथा आँटकासाथ लाग्ने हो भने यो क्षितिज झै तृष्णा पनि नहोला।
***
यो आलेखमा हामीले नेपाली सिनेमाको उद्गम र हालसम्मको व्यापारिक यात्रालाई केलाउँदै भविष्यमा सय करोड बक्सअफिस निर्माणका लागि गर्नुपर्ने काम र हुनुपर्ने योजनाका बारेमा चर्चा गर्नेछौं। यसमा हामी नेपाल सरकार तथा सिनेमाको व्यापार सम्बद्ध यस बारेमा के सोच्छन्? वा उनीहरुले सोचिरहेका छन् भने किन र के आधारले तथा छैनन भने किन सोचिरहेका छन्?, भन्ने बारेमा पनि जान्ने प्रयास गर्नेछौं। यो सोच साकार हुनका लागि हाम्रा योजना के हुनुपर्छ त ? यी र यस्तै प्रश्नको जवाफ यस आलेखमा खोज्ने प्रयास गरिनेछ।
नेपालमा सिनेमा हलको इतिहास
नेपालमा सिनेमा निर्माणभन्दा सिनेमा प्रदर्शनको इतिहास जेठो छ अर्थात् नेपाली सिनेमा बन्न सुरु हुनुभन्दा अगावै सिनेमा प्रदर्शन भएको इतिहास छ।
राणा प्राधानमन्त्री जुद्धशमशेरले सन् १९४३ मा आफ्नै दरबार परिसरमा सिनेमा हल निर्माण गरेका थिए भने त्यसभन्दा अगाडि नै सन् १९२० मा दरबारको चोकमा पर्दा हाली राणा तथा राजपरिवारले सिनेमा हेर्ने गरेको तथ्य भेटिन्छ।
तर आमनागरिकले सिनेमा हेरेको इतिहास भने अर्का राणा प्रधानमन्त्री देव शमशेरसँग जोडिन्छ।
देव शमशेर र उनकी श्रीमतीको सिन्दूर–यात्रा क्रममा (विसं १९५८) टुँडिखेलमा सामान्यजनलाई सिनेमा देखाएका थिए। यसबारेमा गोरखापत्रको पहिलो र तेस्रो अंकमा समाचार छापिएको पढ्न पाइन्छ।
पछि २००२ सालमा पद्मशमशेर प्रधानमन्त्री बनेपछि उनले आफ्नो निजी थिएटरमा विद्यार्थीलाई केही सिनेमा देखाएका थिए।
२००६ सालमा मोहन शमशेरले पद्म शमशेरलाई निर्वासन जान बाध्य तुल्याउँदै नेपालको प्रधानमन्त्री तथा श्री ३ महाराज बने। उनकै पालामा नेपालले आम नागरिकका लागि नियमित सिनेमा बनाउने पहिलो हल बनायो।
हाल विशालबजार रहेको स्थानमा जनसेवा नामक हल २६ मंसिर ००६ सालमा उद्घाटन भयो। म्युनिसिपलिटी अड्डा (गोश्वारा) मातहत रहने र त्यहाँबाट प्राप्त हुने आम्दानी म्युनिसिपलिटीलाई नै जाने गरी तात्कालिक सरकारले काठमाडौँ सिनेमा भवन (जनसेवा हल) स्थापना गरेको थियो । जनसेवा हललाई काठमाडौं सिनेमा भवन पनि भन्ने गरिएको मत रहेको छ। नाममा मतएक्कै नभएपनि उद्घाटनको समाचार भोलिपल्टको गोर्खापत्रमा प्रकाशित भएको छ।
‘काठमाडौँमा सिनेमा उद्घाटन’ शीर्षकमा पहिलो पातोमा प्रकाशित समाचार यस्तो थियो :
‘काठमाडौँमा सिनेमा उद्घाटन’
काठमाडौँ, मार्ग २६ गते । आज काठमाडौँ सिनेमा भवनमा सिनेमा प्रदर्शनको काम भयो । त्यस भवनवरिपरि रंगीचंगी ध्वजापताकाहरू टाँगिएका थिए । पस्ने ढोकामा रातो तुलमा सेतो अक्षरले श्री ३ महाराजको जय भन्ने लेखिएको थियो । भवनभित्र ठाउँठाउँमा सुशोभित पूर्ण कलशहरू राखिएका थिए । सरोकारवाला अड्डाका कर्मचारीहरूद्वारा रामविवाह भन्ने सिनेमाको उद्घाटन भयो । सिनेमा भवनको भित्री भागको सजधज एउटा प्रसिद्ध सिनेमा भवनको दाँजोमा दाँज्न सकिन्थ्यो । यस तमासाको दर्शनले सबैको चेहरा बडो प्रफुल्लित देखिन्थ्यो । भवनअगाडि चौरमा पनि धेरै मानिस जम्मा भएका थिए । दिनको २ पटकका दरले सिनेमा देखाउने प्रबन्ध भएको छ । (गोरखापत्र, २००६/८/२७/१)
उद्घाटन हुनुकेही अघि सही महिनाको १ गते गोरखापत्रमा 'सिनेमा' शीर्षकमा एउटा सम्पादकीयसमेत छापिएको पाइन्छ।
‘वर्तमान दूरदर्शी श्री ३ महाराजले ‘मुलुकले फायदा उठाओस् भन्नाका निम्ति यही मंसीर २६ गतेदेखि म्युनिसिपलिटी अड्डाको मातहतमा टिकटबाट सिनेमा देखाउने प्रबन्ध गराइबक्सेको छ । चाहिने रुपियाँको निकासा र देखाउने ठाउँको (?) बरबन्दोबस्त पनि भइसकेको खबर छ ।’
सो हलमा पहिलो पटक 'रामलीला' नामक हिन्दी भाषामा बनेको धार्मिक सिनेमा प्रदर्शन गरिएको थियो। सन् १९४९ मा निर्मित तथा प्रेम अदिबले निर्देशित सिनेमा करिब तीन साता चलेको थियो ।
२००७ सालबाट सुरु भएको सिनेमा हल खुल्नेक्रम २०१४ सालसम्म आइपुग्दा काठमाडौं उपत्यकामा ८ वटा हल खुले। जनसेवापछि दोश्रो हल २०११ साल असोज २६ गते खुल्यो। सो सिनेमा हलको नाम श्री सिनेमा थियो। यो हल संचालनमा आएपछि नेपालमा हल खोल्ने लहर चल्यो। गृहमन्त्रालय तात्कालीन अवस्थामा श्री सिनेमा हल खुलेपछि नेपालभरि ५४ वटा हल खोल्ने लाइसेन्स बाँडेको थियो।
श्री सिनेमापछि काठमाडौंको ठमेलमा मुनलाइट हल, राणाहरुले आफूहरुका लागि मात्र फोहरा दरबारमा 'प्रभा हल'खोले। काठमाडौंमा विश्वज्योति, रञ्जना, जय नेपाल तथा पाटनमा अशोक हल र भक्तपुरमा 'नवदुर्गा हल यही समयमा खुले।
हलहरु खोलिएपनि नेपाली सिनेमाको निर्माण अझै सुरु हुननसकेको अवस्थामा २०२१ सालमा हिरा सिंह खत्रीको निर्देशनमा 'आमा' सिनेमा बन्यो । २०२२ सालमा सार्वजनिक प्रदर्शनमा आएको यो सिनेमा राजा महेन्द्रको चाहनामा बनेको थियो भने उनी यसबाट पञ्चायती व्यवस्थाको औचित्य र एउटा निर्विकल्प व्यवस्थाको प्रचार गरन चाहन्थे। सोही हेतु 'परिवर्तन', 'हिजो आज र भोलि' सिनेमा पञ्चायतको पक्षपोषणमा निर्माण भए।
यसरी सुरु भएको नेपाली सिनेमाको निर्माण यात्राले साढे दुई दशकको अवधिमा २०४६ सालसम्म ४० वटा सिनेमा नेपाली दर्शकमाझ पस्कियो।
४६ साल यता भने नेपाली सिनेमा मात्र देखाउने हाइभिजन हल र अन्य ठूला हललाई कर फिर्ताको माध्यमबाट प्रोत्साहित गर्ने काम भयो। यसले पनि हलहरु राम्रै संख्या विस्तार भए। नेपालमा सिनेमा प्रदर्शक र वितरकको छाता संगठन नेपाल चलचित्र संघका अनुसार यो संख्या कुनै समय ४ सयको हाराहारी पुगेको थियो।
तर समयक्रममा विशेषगरी माओवादी द्वन्द्व सुरुभएपछि नेपाली सिनेमाको ओरालीका दिनहरु सुरु भए। एकातिर माओवादी द्वन्द्व, अर्कोतिर बलिउड सिनेमाको ठाडो नक्कलले सिनेमाको गुणस्तर खस्किँदै गयो। प्रकाश थापा निर्देशित 'सिन्दुर'ले प्राप्त गरेको व्यापारिक सफलता होस् या 'कुसुमे रुमाल'को अभूतपूर्व व्यापार । यी सबै नेपाली सिनेमाको वक्सअफिस फैलाउने कोशेढुङ्गा थिए। नेपाली रजतपटमा राजेश हमालको आगमनले भित्र्याएको स्टारडमको सिलसिलामा जोडिएका अन्य अभिनेताहरुले नेपाली वक्सअफिस सुखद बनाउने काम गरे।
तर समय फेरियो, भुमण्डलीकरणको निकटता र सिनेमा साक्षरताले ६० को दशकको अन्त्यदेखि नेपाली सिनेमाको वक्सअफिस तिल्मिलाउन सुरु गर्यो। २०६८ सालतिर लगातार एकपछि अर्को गर्दै नेपाली सिनेमा वक्सअफिसमा असफल हुन थाले, जसले गर्दा नेपाली सिनेमा क्षेत्रमा संकटकाल लगाउने चर्चा चल्यो। यही चर्चाका बीच डेब्यू निर्देशकको एक सिनेमाले नेपाली सिनेमामा नयाँ कोशेढुङ्गा कायम गर्यो । सिनेमा थियो निश्चल बस्नेत निर्देशित 'लुट'। सिनेमाले नेपाली सिनेमा निर्माण शैलीको कमजोरी उदाङ्गो पारिदियो। यस सिनेमाले आफ्ना निर्देशकिय शैली र कथ्य शैलीमा नविनताको सन्देश दियो।
त्यसपछिका कुराहरु तपसील हुन्। त्यसयता नेपाली वक्सअफिसले एकल अंकको करोड कमाइबाट दोहोरो अंकको करोड कमाइमा आफूलाई समावेश गर्न थालिसकेको छ।
यतिहुँदाहुँदै पनि नेपाली सिनेमा आज पनि संघर्षरत छ, किन?
***
भारतीय सिनेमा उद्योगमा वितेको दशकमा सय करोड एउटा सफलताको मानक बन्यो। यो मानक हाल भत्किने क्रममा छ। यसमा विशेषतः क्षेत्रीय सिनेमाले 'प्यान इण्डिया' रिलिजको रुप धारण गरेपछि एउटा सय कमाइबाट कतिवटा सयको कमाइ भन्ने मानकमा प्रवेश गरिसकेको छ। लगानीको मानक पनि यही हिसाबले अघि बढेको छ।
भारतीय वक्सअफिसको चर्चा यहाँ किन गरियो भन्ने कुरा यस आलेखको एउटा 'हाइपोथेसिस'लाई जोड्नका लागि गरिएको हो।
त्यसैले यो प्रश्न पुनः यहाँ गरिदैछ।
के नेपाली सिनेमा वक्सअफिस सय करोडको मानक बनाउन सक्षम छ?
यो समयदेखि सम्भव छ भने ठोस उत्तर नभए पनि यो असम्भव भने छैन।
यसका लागि हामी हाम्रो नेपाली वक्सअफिसमा भइरहेको नेपाली सिनेमाको कमाइलाई आधार मान्न सक्छौं।
औपचारिक वक्सअफिसमा सामेल भएपछिको हिसाब हेर्ने हो भने आजको मितिमा सर्वाधिक कमाइ गर्ने सिनेमा हो 'कबड्डी ४'। सिनेमाले नेपालको घरेलु बजारमा २४ करोड १८ लाख हाराहारी कमाइ गरेको बताइन्छ। सिनेमाले यो आँकाडा पार गर्न करिव ७० दिन लगाएको थियो।
यस्तोमा सय करोड कति सम्भव?
एक वितरकलाई राखिएको जिज्ञाशामा उनी आशावादी देखिए।
'भनेजस्तो रिलिज पाउने र अलिकति रिपिट भ्यालु भएको सिनेमा बनायो भने अहिलेकै अवस्था ३५-४० करोड पुग्छ', उनले भने।
नेपाल चलचित्र संघको तथ्यांक अनुसार नेपालमा हाल सबै हलमा गरेर १ सय ५९ वटा पर्दा संचालनमा छन्।
यी पर्दामा कुनै पनि सिनेमाले आइडियल रिलिज पाउने हो भने नेपालभरका सबै सिनेमा सिट भरिभराउ हुँदा करिब ३.५ करोड रुपैयाँ संकलन गर्ने क्षमता राख्छ। यो कलेक्सनमा तराईं बेल्टका केही हलहरु पर्दैनन्। भाषिक कारणले नेपाली भाषाका सिनेमा यहाँ कम चल्ने गर्छन्। यो बेल्टमा पनि क्षमता विस्तार हुँदा नेपाली वक्सअफिसको एकदिने आयातन पौने चार करोडको हाराहारी छुन्छ।
यस आँकडामा कमलपोखरीस्थिति तीन पर्दा भएको बिग मुभिजको तथ्यांकलाई पनि हेरौं।
यहाँ तीन पर्दामा कुल ८ सय ८६ सिट छ। यहाँ २४ घण्टाको अवधिलाई एक दिन मानेर करिब २ घण्टा वा दुई घण्टा र केही मिनेट लामो सिनेमा ५ वटा शो ३ वटै हलमा लाग्दा झण्डै १३ लाख रुपैयाँको कारोबार गर्नसक्छ। यो बिदाको दिनको कमाइ हो।
यस्तै क्यूएफएक्स सुन्धारालाई पनि हेरौं। तीन वटा पर्दा भएको यसको हलको क्षमता १ हजारको छ।
शतप्रतिशत हाउसफुल हुँदा आजको मितिको टिकटदर अनुसार एउटा सिनेमाले यही हलबाटमात्र २४ लाख ग्रस कलेक्सन हुन्छ।
यसमा यस्तो व्यापार भएको पनि छ।
त्यस्तै, हाल नेपाली वक्सअफिसमा हुने कमाइको शैली पनि हेरौं।
उच्च हाइप प्राप्त सिनेमाले शुक्रबार अलनेपाल ७० लाख हुन्छ भने शनिबार वा बिदाको दिनमा १ करोड माथि हुन्छ। यस्तै अन्य सामान्य दिनमा(आइतबार सोमबार, मंगलबार, बुधबार, बिहीबार) शनिबारको दाँजोमा ४० प्रतिशत व्यापार हुने गर्दछ।
यही अंकगणितमा 'रिपिट भ्यालु' बोकेको सिनेमा चल्दा ३५-४० करोड ग्रस कमाइ गर्ने अनुमानमा वितरक प्रचण्डमान श्रेष्ठ सहमति राख्छन्।
सय करोडको सवालमा उनले नेपाली सिनेमाको बजार अझै फैलिन बाँकी रहेकाले असम्भव भने नरहेको धारणा राख्छन्।
यसका लागि नीतिगत तथा श्रृजनात्मक सुधार एवम् विकास भने हुनुपर्ने उनको विचार छ।
***
सन् २०१९ मा गरिएको सिनेमा व्यापारको एक अध्ययनले सिनेमाको वक्सअफिस आयातन ४२.२ बिलियन अमेरिकी डलर रहेको छ। यसमा होम भिडियोसमेत जोड्ने हो भने सन् २०१८ मा यसको आयातन १३६ विलियन अमेरिकी डलर थियो ।
यस्तै नेपाली सिनेमाले एक वर्षमा सिनेमा निर्माणमा ६०-७० करोड रुपैयाँ लगानी गर्ने गर्छ भने व्यापार १ अर्बको हाराहारी हुने गरेको छ।
यी अंकगणितहरुलाई हेर्दा नेपाली सिनेमा क्षेत्र एउटा सम्भावना बोकेको क्षेत्र हो। राम्रा सिनेमा र हलहरु विस्तारमा सरकारी सहयोग यसका व्यवसायीहरुको माग अनुसार हुने हो भने एउटै सिनेमाबाट सय करोड कमाइ हुने अवस्था त्यति टाढा छैन। नेपाली सिनेमा व्यवसायीहरुले यसका लागि कर छुट मागेका छन्। यस्तै सिनेमा निर।माण आफैमा महँगो विधा भएकाले यसको विकासका लागि आवश्यक सहायक उद्योगहरुको स्थापना र परिकल्पना आजको दिनमा अपरिहार्य रहेको छ।
सरकारले यसका लागि ठोस योजना निर्माण गर्नुपर्ने देखिन्छ। सरकारले घरभित्रै नेपाली सिनेमालाई बलियो बनाउनमा ध्यान दिने हो भने आजको मिति जसरी सूचना प्रविधि निर्यातमा नेपाल अगाडि बढेको छ, सिनेमाले पनि त्यही बाटो पछ्याउने सम्भावना बढ्छ। बढ्दो डिजिटल युगले ल्याएको ओटिटी प्लेटफर्म र राम्रा सिनेमाका लागि सधै खुल्ला रहने विश्व सिनेमा बजारले गर्दा नेपाली सिनेमाका लागि आगामी दिन सुखद देखिन्छ। यसमा नेपाली सिनेकर्मीले गुणस्तरीय सिनेमा दिनसक्नुपर्छ।
पछिल्लो समय जे चल्छ त्यस्तै खाले श्रृजनाको दोहनमा सबै होमिने बानीले पनि नेपाली सिनेमाको व्यापार खुम्चिएको छ। तर फरक सोचका साथ विश्वव्यापी अपिल बोकेको सिनेमा पस्किने हो भने सय करोडको नेपाली वक्सअफिस कुनै सपना होइन।
उदाहरणका लागि हामी पाकिस्तानी सिनेमा उद्योगको सन् २०१३ मा रिलिज भएको डेब्यू निर्देशक बिलाल लसहारीको 'वार' सिनेमालाई लिन सकिन्छ। यो सिनेमाको रिलिज अगाडि पाकिस्तानी सिनेमा उद्योग लगभग ध्वस्त थियो। त्यहाँ हलहरुमा बलिउड सिनेमाको एकक्षत्र राज थियो। यो सिनेमाले सबैलाई आश्चर्यमा पार्दै कीर्तिमानी व्यापार गर्यो। यो सिनेमाको सफलताले त्यहाँ सिनेमा निर्माताहरु पुन जुर्मुराए । त्यसपछि बनेका पाकिस्तानी सिनेमाले सिने उद्योग पुनः मृत्युशैयाबाट ब्यूँतियो।
केही वर्ष अगाडि रिलिज भएको 'ल लिजेण्ड अफ मौला जट' सिनेमाले पनि व्यापारमा कीर्तिमान राख्यो। यसको सफलताबाट पाकिस्तानी सिनेमा उद्योग थप उर्जावान भएको छ।
यस्तै छिमेकी देश भारतका क्षेत्रिय सिनेमाहरु पछिल्लो समय आफ्नो क्षेत्रबाट बाहिर निस्किरहेका छन्। उनीहरु नोटेड हुन थालेका छन्। 'केजिएफ' रिलिज हुनुअघिसम्म कन्नड सिनेमा उद्योग भारतका क्षेत्रीय सिनेमा उद्योगहरुमा साना उद्योगहरु अन्तरगत नै पर्थ्यो। जसै आफ्नो पहिलो सिनेमा 'उग्रम'ले कीर्तिमान तोड्यो। यसका निर्देशक प्रशान्त निल हौसिए। 'बाबुबली'को जबरदस्त सफलताले उनलाई झनै उर्जाप्राप्त भएपछि उनले सुरक्षित घेरा छोडेर ठूलो क्यानभासको 'केजिएफ' बनाए। परिणाम सर्बविदितै छ।
यस्तै छलाङ हामी पनि मार्न सक्छै। यसका लागि मेकरमा केही हिम्मत र दुस्सहासको खाँचो छ। बितेको ७० को दशकमा हामीले निक्कै आश गरिएका निर्देशकहरु पायौं तर उनीहरु पहिलो सफलताको पुनरावृत्तिमै रमाइरहँदा सिनेमा उद्योग छलाङ मार्न पछी परिरहेको देखिन्छ। उनीहरु त्यो 'कम्फर्ट जोन'बाट बाहिर निस्कनैपर्छ।
हामीले हाम्रो थप बजार खोज्नुपर्छ। यसका लागि हामीले सबैभन्दा पहिले देशभित्रका सम्भावित बजारहरु खोज्नुपर्छ। अझै पनि देशका सबै जिल्लामा हल खुलिसकेका छैनन्। जिल्लाका सदरमुकामहरुमा समेत हल नहुनुले हामी बजार विस्तारमा कति पछि छौं भन्ने स्पष्ट पार्छ। यस्तै नेपालभर शहर उन्मुख थुप्रै नगरहरु रहेका छन् जहाँ सिनेमा हको सम्भावना बढिरहेको छ। यस्ता स्थानहरुको पहिचान हुनु आवश्यक छ। यसका लागि सरकारले सरोकारवालाहरुसँग मिलेर अध्ययन गरेर ती क्षेत्रहरुको पहिचान गरेर लगानीको वाताबरण बनानुपर्छ।
यस्तै सिनेमा हेर्ने बानी विकासका लागि विभिन्न भाषाभाषीका सिनेमालाई अनौपचारिक प्रदर्शनमा नभइ औपचारिक प्रदर्शनमा आउने वातावरण बनाउनुपर्छ। यसले सिनेमा हलमा हेर्ने बानीको विकास त गर्छ नै, सिनेमाको व्यापार विस्तारमा समेत टेवा पुर्याउँछ।
हाम्रा लागि नेपाली भाषासँगै भोजपुरी, मैथली, थारु, गुरुङ, राई भाषाका सिनेमाको औपचारिक प्रदर्शन वजार विस्तारको एउटा कडी बन्न सक्छ।
अन्तर्राष्ट्रिय अध्ययनले कुनै पनि स्थानमा हल चल्नका लागि त्यहाँको जनसंख्या, सो जनसंख्या आर्थिक सामर्थ्यले महत्वपूर्ण भूमिका खेल्दछ। यो कोणबाट आजसम्म राज्यले बजारको खोजी गरेको छैन, खोज्न प्रेरणा दिएको छैन। लगानीकर्ताहरुले आफ्नै तजबिजमा यसमा लगानी गरिरहेका छन्।
अझै पनि नेपालका करिब १५ जिल्लामा सिनेमा हल छैन। यसमा पनि सबैभन्दा उदेकलाग्दो कुरा राजधानीसँग जोडिएका र नजिकका जिल्लासमेत हल छैन।
उदाहरणका लागि सुगम मानिएको सिन्धुली जिल्लामा हल छैन। यस्तै राजधानीसँग सीमा जोडिएको धादिङमा पनि सिनेमा हल छैन। यसमा रुकुम रोल्पा लगायतका जिल्ला पनि हलविहीन छन्। दाङमा कुनै समय १०-१० वटा हल भएको र नेपाली सिनेमाले राम्रो व्यापार गर्ने स्टेशनमा गनिने गरेकोमा हाल एउटामात्र हल संचालनमा रहेको बताइन्छ।
यस्तै काठमाडौंसँगै टासिएको काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका जनसंख्या तथा क्रयशक्तिका हिसाबले बलियो क्षेत्र भएपनि हाल हल छैन। हलमा सिनेमाको मज्जा लिनका लागि यहाँका जनता बनेपा, भक्तपुर वा काठमाडौं आउने गर्छन् जबकी कुनै समय यहाँ ३ वटा हल संचालनमा रहेका थिए।
त्यो अध्ययनले एउटा हल चल्न हल खोलिने स्थानको ११ किमीको दायारभित्र कम्तिमा ७५ हजार जनसंख्या हुनुपर्छ भन्छ। यस्तै क्रयशक्तिको स्तर पनि यसमा उत्तिकै हुनुपर्ने मत छ। यसमा फेरि जनसंख्या अनिवार्य नहुने अवस्था पनि हुनसक्छ।
जस्तो लम्जुङ जिल्लाको सदरमुकाम वेशीशहरमा अन्तर्राष्ट्रिय अध्ययनले देखाए जस्तो जनसंख्या छैन्। करिव ३० हजार माथिको जनसंख्या रहेको छ तर लाहुरे पृष्ठभूमिका कारण त्यहाँ राम्रा सिनेमा लाग्दा हलहरु राम्रो गरी चल्ने गर्छन् तर यो भन्दा धेरै नै जनसंख्या भएको बारा जिल्लामा क्रयशक्ति त्यही अनुसारको नहुँदा हल चल्न मुश्किल परिरहेको छ।
यस्ता कुराहरुको अध्ययनले हामीलाई हाम्रो बजार कहाँ र कति हो बुझ्न मद्धत गर्छ।
नेपालसँगै डायस्पोराको नेपाली समुदाय पनि नेपाली सिनेमाको बजार हो। छिमेकी राष्ट्र भारतमा नेपाली भाषीहरुको बाहुल्यता रहेको चार-पाँच स्थानहरु रहेका छन्। ती ठाउँहरुमा यता बलिउड सिनेमा रिलिज भएझै नेपाली सिनेमा रिलिजको प्रयास गर्ने हो भने नेपाली वक्सअफिसका लागि सय करोड मानक निकट बन्ने सम्भावना अथाह छ। यस्तै मध्यपूर्व, अमेरिका, अष्ट्रेलियामा नेपाली सिनेमाको उल्लेख् बजार छ। पछिल्लो समय यी क्षेत्रमा केही नेपाली सिनेमाले गज्जबको ब्यापार गरेको बताइन्छ।
उदाहरणका लागि युएईबाट मात्रै 'जारी' सिनेमाले १ करोड बराबरको सेयर पाएको बताइन्छ। यस्तै 'कबड्डी ४'ले निर्माताको हातमा २ करोड परेको चर्चा नेपाली सिनेमा बजारमा चलेको थियो।
व्यावसायिक रुपमा चलेका सिनेमाहरुले हाम्रा बजारहरु देखाइरहेका छन्। यसरी देखिएका बजारको सुरक्षा र नयाँ बजारको खोजीले नेपाली सिनेमाले कुनै दिन सय करोड कमाउने सपनालाई साकार बनाउन मद्धत गर्नेछ।
त्यसैले सरकारले हाल सिनेमालाई हेर्ने नीति र दिने प्राथमिक्तामा परिवर्तन गर्नैपर्छ। यसलाई एउटा सबल उद्योग बनाउने हो भने त्यसका लागि चाहिने पर्यावरण निर्माणमा गम्भिर हुनैपर्छ। र सरकारसँगै नेपाली सिनेमा सर्जकहरुले थप बजार आकर्षित गर्ने सिनेमा निर्माणको खतरा लिनैपर्ने बेला आएको छ।
(चलचित्र विकास बोर्डको २४ औं वार्षिकोत्सवमा प्रकाशित 'चलचित्र मञ्च'मा प्रकाशित आलेख)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।