जनकपुरधाम- पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका- १ रतनपुरस्थित घरमै ८० वर्षीय रायको हत्या भएको हो।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको प्रहरीले जनाएको छ। उनको हत्या भएको खबर गएराति १ बजे आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
खबर आएलगत्तै घटनास्थल पुगेको प्रहरीले रायलाई कोठा भित्र मृत अवस्थामा फेला पारेको थियो। डिएसपी श्रेष्ठका अनुसार रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ। उनको टाउकोको बायाँ भागमा चोट छ।
सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन्। अनुसन्धानका लागि तालिम प्राप्त कुकर पनि परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।
राय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए। परिवारसहित मलंगवा बस्दै आएका राय आइतबार मात्रै रतनपुर आएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।