काठमाडौं– सरकारले सुन तस्करीबारे छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा गठन भएको छानबिन आयोग सक्रिय भएको छ। छानबिन आयोगले धमाधम सुन तस्करीमा अनुसन्धान गरेका, तस्करीमा कनेक्सन देखिएका र संलग्न अन्य व्यक्तिहरुको बयान लिन थालेको छ।
सिंहदरबारमा कार्यालय रहेको पूर्वन्यायाधीश डिल्लिराज आचार्यको नेतृत्वमा रहेको समितिले छानबिनमा सक्रियता देखाएको हो। असोज १४ गते मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो।
उक्त आयोगलाई पहिलो पटक दिएको समय सकिएपछि २ महिना थप गरिएको थियो। अबको एक महिना समय भएकाले आयोगले सक्रिय रुपमा आफ्नो काम गरिरहेको अध्यक्ष आचार्यले बताए। आचार्यले बुधबार केही महत्त्वपूर्ण बयान लिने कार्य गरेको जानकारी दिए।
सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्यूरोकी एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको छ। प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यलाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर आयोगका पदाधिकारीहरूले सोधपुछ गरेका हुन्।
६० किलो सुन र भेपमार्फत् गरेको सुन तस्करीबारे अनुसन्धानसहित पछिल्लो समय सीआईबीले सुन तस्करीमा गरेको अनुसन्धानका बारेमा समितिले छलफल गरेको अध्यक्ष डिल्लिराज आचार्यले बताए।
तस्करले ६० किलो सुन हङकङबाट र इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट सुन काठमाडौंमा ल्याएका थिए। ६० किलो सुनबारे अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा र भेपबारे अनुसन्धान गरेका डिएसपी दुर्गा दाहालसँग पनि आयोगका पदाधिकारीले छलफल गरेका थिए। उनीहरुको छलफलपछि सीआईबी प्रमुखसँग समितिले छलफल गरेको हो।
ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुनमा जोडिएका जीवन चलाउनेलाई केन्द्रीय अनुसन्धान ब्यूरोकी एआईजी किरण बज्राचार्यले उन्मुक्ति दिएको आरोप लाग्दै आएको छ। चलाउनेविरुद्ध डिफ्युजन नोटिश जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) पत्राचार गरिएको थियो।
सीआईबीको प्रतिवेदनमा उनलाई प्रतिवादी बनाइएको थिएन। सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दा चलाउनेलाई प्रतिवादी कायम गरेको थियो।
आयोगका अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख अच्युतमणि न्यौपानेसँग पनि सोधपुछ गरेका छन्। उनले आफूले अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दायर गरेको जवाफ दिएका छन्।
अध्यागमन विभागका पूर्वप्रमुखसँग पनि छलफल
जाँचबुझ आयोगले गत आइतबार अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीसँग पनि बयान लिएको थियो। सह–सचिव अधिकारी हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत छन्।
६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएपछि उनी सरुवा भएका थिए। आयोगले बुधबार नै सुन तस्करीमा थुनामा रहेका चुडामणि उप्रेती ‘गोरे’सँग बयान लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।