काठमाडौं– चालू आर्थिक वर्ष (२०८०/०८१) को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ‘रैथानेमा गर्व गरौं’ भन्ने नाराकासाथ नेपालका परम्परागत रैथाने बालीको बीउ संरक्षण गरी खेती विस्तार गरिने बताएका थिए। यस्तै रैथाने बालीको बजारीकरण सरकारले गरिदिने उनको भनाइ थियो। जसका लागि जुम्लाको मार्सी धान, कणाली लगायतका स्थानमा पाइने कागुनो, कोदो, फापर लगायतका रैथाने बाली खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गनुपर्ने उनको भनाइ थियो।
बजेट वक्तव्य प्रस्तुत गरेको ९ महिना बितिसक्यो। बल्ल तल्ल खाद्यले रैथाने बाली खरिद गर्ने तरखर गरेको छ। गत साता मात्रै कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशबीच रैथाने बाली खरीद गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सोही अनुसार कम्पनीले कर्णाली प्रदेशमा १९ हजार चार सय ६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने भएको छ। कम्पनीले ८ हजार ६६० मेट्रिक टन कोदो, कागुनो ३३८ मेट्रिक टन, ६८७ टन चिनो, २ मेट्रिक टन जुनेलो, फापर ७६२ मेट्रिक टन, उवा ६१९ मेट्रिक टन, सिमी ४ हजार ४७० मेट्रिक टन र मार्सी धान ३ हजार ८८६ मेट्रिक टन रहेको छ।
कर्णाली बाहेक अन्य स्थानमा पनि कोदो फापर लगायतका रैथाने बाली उत्पादन हुने गरेको छ। तर ती उत्पादनले बजार पाउन सकेको छैन। जसलाई सरकारले बजारीकरण गर्न सहजीकरणसमेत गरेको देखिँदैन। तर स्वदेशी रैथाने उत्पादनहरु बजार नपाइरहेको बेला ठूलो परिमाणमा बाहिरी मूलुकबाट खाद्यान्न भित्रिएको छ। चालू आर्थिक वर्ष (२०८०/८१) को ६ महिनामा ४५ करोड १५ लाख ७६ हजार रुपैयाँ बराबरको रैथाने बाली आयात भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ।
जसमध्ये सबैभन्दा बढी कोदो आयात भएको छ। ६ महिनामा ४३ करोड ७० लाख ६५ हजार रुपैयाँको ८ हजार ९०६.५१ मेट्रिक टन कोदो आयात भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ३८ करोड ४२ लाख ४३ हजार रुपैयाँको १० हजार ६५३.८४ मेट्रिक टन कोदो आयात भएको थियो। जसअनुसार अघिल्लो वर्षको तुलनामा चालू वर्षमा २८ लाख २२ हजार रुपैयाँ बढीले कोदो आयात बढेको छ।
यस्तै १ करोड ४४ लाख ९१ हजार रुपैयाँको १९७.१२ मेट्रिक टन फापर आयात भएको छ। १ करोड १९ लाख २ हजार रुपैयाँको ३०१.१७ मेट्रिक टन जौ आयात भएको छ भने १९ हजार रुपैयाँको ३४० किलो जुनेलो आयात भएको विभागले जनाएको छ।
कुन वर्ष कति आयो कोदो?
विभागको तथ्यांकले वार्षिक रुपमा कोदो आयात बढ्दो रहेको देखाउँछ। आर्थिक वर्ष २०७९/८० मा ७३ करोड २० लाख १३ हजार रुपैयाँको १८ हजार ४०३.४९ मेट्रिक टन कोदो आयात भएको छ। आर्थिक वर्ष २०७८/७९ मा ७० करोड २१ लाख ८२ हजार रुपैयाँको २० हजार ९१८.३४ मेट्रिक टन कोदो आयात भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा ७८ करोड ३७ लाख ३८ हजार रुपैयाँको २३ हजार ३९१.४६ मेट्रिक टन कोदो आयात भएको थियो।
आर्थिक वर्ष २०७६/०७७ मा ५४ करोड ७८ लाख ९७ हजार रुपैयाँको १६ हजार ८३४.०५ मेट्रिक टन कोदो आयात भएको थियो। आर्थिक वर्ष २०७५/०७६ मा ४३ करोड २१ लाख ७० हजार रुपैयाँको १६ हजार ८५४.९२ मेट्रिक टन कोदो आयात भएको छ।
७.७ प्रतिशत जमिनमा मात्रै कोदो खेती
२०७८ को कृषि गणनाअनुसार नेपालमा कूल २२ लाख १८ हजार हेक्टर जमिनमा खेती हुन्छ। सो जमिनमध्ये ७.७ प्रतिशत हिस्सामा कोदो खेती हुन्छ। जसमध्ये पहाडी जिल्लामा ९५ प्रतिशत भू–भागमा खेती हुने गरेको कृषि मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७५/०७६ मा २ लाख ६३ हजार २६१ हेक्टर जमिनमा कोदो खेती गरिएको थियो। सोही वर्ष ३ लाख १४ हजार २२५ मेट्रिक टन कोदा उत्पादन भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।
त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा २,६२,५४७ हेक्टर जमिनमा कोदो खेती गरिएको थियो। सो वर्ष ३ लाख २० हजार ९५३ मेट्रिक टन कोदो उत्पादन भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा २,६५,४०१ हेक्टर जमिनमा कोदो खेती भएको थियो। उक्त वर्ष ३ लाख २६ हजार ४४३ मेट्रिक टन कोदो उत्पादन भएको थियो।
१० वर्षमा घट्यो १ लाख हेक्टर कोदो रोप्ने जमिन
वि.सं २०४८ सालको कृषि गणनाअनुसार ३ लाख १ हजार ५ सय हेक्टर जमिनमा १० लाख ६५ हजार कृषक परिवारले कोदो खेती गर्थे। २०८५ को गणना अनुसार २ लाख ५० हजार ५ सय हेक्टरमा १० लाख ६० हजार कृषक परिवारले गरेका थिए। यस्तै २०६८ को गणनामा २ लाख ९ सय हेक्टर १० लाख ३६ हजार ७ सय कृषक परिवारले कोदो खेती गरेको तथ्यांक छ।
२०७८ को कृषि गणनाले १ लाख २२ हजार १ सय हेक्टर जमिनमा ८ लाख ६८ हजार १ सय कृषक परिवारले कोदो खेती गरेको तथ्यांक छ। जसअनुसार दश वर्षको अन्तरालमा करिब १ लाख हेक्टरले कोदो रोप्ने जमिन घटेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।