लमजुङ– अलैँची खेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड रुपैयाँ आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित २५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो।
आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिए। यहाँ २०४१ सालबाट अलैँची खेती विस्तार हुँदै आएको छ। अधिकृत मिजारका अनुसार यस वर्ष जिल्लाका किसानले प्रतिकिलो १ हजार २०० रुपैयाँका दरले अलैँची बिक्री भएको छ।
गत ३८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड आम्दानी भएको थियो। आव २०७९/८० मा प्रतिकिलो अलैँची कम्तीमा ५५० देखि ७०० रुपैयाँसम्म बिक्री भएको थियो। उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका हुन्।
आव २०७८/७९ मा ३३५ मेट्रिक टन अलैँची दाना बिक्रीबाट १५ करोड आम्दानी भएको थियो। त्यस्तै, एक दशकअघि अलैँची दाना बिक्रीबाट १३ करोड रुपैयाँसम्म आम्दानी भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ५०० क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख रुपैयाँ आम्दानी भएको थियो। उक्त वर्ष ९५० देखि साढे १ हजार रुपैयाँ बढी मूल्यमा बिक्री गरेका थिए।
आव २०७६/७७ मा जिल्लामा २ हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले १२ करोड रुपैयाँसम्म आम्दानी गरेका थिए। त्यस्तै आव २०७५/७६ मा ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले ५ करोड २५ लाख रुपैयाँ आम्दानी गरेका थिए।
लमजुङमा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ। भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँची दानाको मूल्य नपाएको गुनासो गर्दै आए पनि यस वर्ष भने केही राहत महसुस गरेका छन्। यस वर्ष अलैँची दानाको मूल्यवृद्धि हुँदा अलैँची किसान हर्षित भएका छन्।
जिल्लामा १ हजार हेक्टर बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि ५०० हेक्टर क्षेत्रफलभन्दा कम क्षेत्रफलबाट उत्पादन हुँदै आएको बताइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ।
सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ। जिल्लामा ७०० मिटरदेखि १ हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, एक हजार दुई सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र १ हजार ६०० देखि २ हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् । जिल्लामा बढी उमेरका अलैँची, कृषकले १५/१६ वर्षको बुढो उमेरका बोटबाट पाना च्यातेर सार्ने, बुढो बगान, स्याहारसुसारमा कमीलगायत कारणले बर्सेनि उत्पादन घट्दै गएको उक्त कार्यालयका कृषि अधिकृत मिजारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।