खास सरकारी नियतलाई एक छिनलाई पन्छाएर टिकटकले सामाजिक व्यवहारमाथि पारेका विविध प्रभाव र असरहरूको अध्ययन भने सबैका लागि लाभकारी नै हुन्छ होला। यतातिर ध्यान दिने हो कि? विश्व व्यवस्थामा अमेरिकी क्याम्पको नजिक र चीनसँग टाढा रहेको जनाउन अथवा सस्तो लोकप्रियतावादी सरकारले गर्नैपर्ने महत्त्वपूर्ण कामहरू पन्छाउन, आफ्नो नालायकीपन छोप्न र विरोधी लहर मत्थर पार्न टिकटकमाथि प्रतिबन्ध गरेको हो भने पनि केही प्रश्नहरू चाहिँ छोइएकै छैनन्।
(स्पष्टीकरण: म यी प्रश्नको सूचित जवाफको दाबेदार भने होइन र यो लेखोट केवल जिज्ञासा हो। म टिकटक प्रयोगकर्ता पनि होइन।)
टिकटकले कस्तो सामाजिक र राजनीतिक चेतना निर्माण गरिरहेको थियो त? लोकतन्त्रको मापन टिकटकलाई मात्रै लिएर हेर्दा नेपाली लोकतान्त्रिक अभ्यास कस्तो देखिन्छ त? टिकटकलाई आम नागरिकको सिर्जनात्मक विरोध प्रदर्शनको आधार मानेर हेर्दा त्यहाँ अधिकांश प्रयोगकर्ताले साँच्चै सिर्जनात्मक काम बढी गरे कि गरेनन्? टिकटकका विषयवस्तुमा मनोरञ्जन हाबी थियो कि सचेतना? टिकटकले समसामयिक समाजको कस्तो चित्र देखायो? टिकटकले तथ्यहरूको अभिलेख गर्यो कि भ्रम र झूटको बिस्तार? टिकटकले सामाजिक मनोवृत्तिलाई स्वस्थ बनाउन सहयोग गर्यो कि वैचारिक बिमारी बढायो? टिकटकले आम मानिसको चेतनालाई भ्रष्टिकरण गर्यो कि क्रमिक सुधार? सामाजिक भेदभाव, असहिष्णुता, हिंसा, यौनाचार, अपराध, ठगी, दुराचार, शरीर र सौन्दर्यको वस्तुकरण अनि त्यसको व्यापार जस्ता विसङ्गतिलाई टिकटकले घटायो कि झन् बढायो? टिकटकले नेपाली गीत–संगीत र सिनेमाको केकति लोकतान्त्रिककरण गर्यो? अनलाइन व्यापारिक गतिविधिमा कस्तो भूमिका निर्वाह गर्यो? अर्थतन्त्रमा यसको कस्तो विशेष प्रभाव रह्यो? अन्तर-व्यक्ति सम्बन्धमा यसले केकति सकारात्मक अथवा नकारात्मक असर गर्यो? नेपाली पत्रकारिताको गुणवृद्धि गर्यो कि ह्रास? आम मानिसलाई टिकटकले राजनीतिक सचेतना जगाउन केकस्ता भूमिका निर्वाह गर्यो त?
यी लगायतका यावत प्रश्नहरूको ठीकसँग, यथार्थपरक जाँच गरिएको छैन। विद्वानहरूले यी विषयमा अध्ययन गर्नुपर्ने हो, तर खासै पढ्न पाइएको छैन।
फेसबूकले सिर्जना गरेको ‘क्याकोफोनि र इकोच्याम्बर’ असर अनि निश्चित विचारमा थुनिएका मान्छेका सामूहिक भर्चुअल आदानप्रदानका राम्रा र नराम्रा पक्षहरूबारे नेपाली छापामा यदाकदा पढ्न पाइन्छ। तर टिकटकको बारेमा विशद लेखहरू आएका छैनन्। अब यो कोलाहलबाट गहकिला विचारहरु अवश्य निस्कन्छन् होला।
यत्ति चाहिँ भन्न सकिएला, अलिकति आलोचनात्मक दृष्टिले केलाउँदा टिकटकले सबै सकारात्मक असर भने गरेन भन्ने नै देखिन्छ। नेदरल्यान्ड, अस्ट्रेलिया तथा अन्य विभिन्न देशमा बन्द भएको टिकटकले नेपालमा चाहिँ विशेष महत्वको भूमिका निर्वाह गर्न सक्ने सम्भावनाको पनि अध्ययन भएको छैन। यसले फेरि प्रविधि खराब कि प्रयोगकर्ता खराब भन्ने विषयमा छलफल माग्छ। नियमन प्रभावकारी हुँदा प्रविधिले मानिसको अहित गर्न सक्दैन भन्ने कुरा पनि मनासिवै देखिन्छ। सामाजिक सञ्जालमा सरकारले गर्ने संकूचन लोकतन्त्र र आमवृत्तको नै संकूचन गर्नु हो र यो फासिस्ट प्रवृत्ति हो भन्ने आम बुझाइ भने बलियो बनेको देखिन्छ।
सन् २०१६ अघि टिकटक थिएन, २०२३ को नोभेम्बर १३ पछि पनि छैन- यो सात वर्षमा २ छाक खान गाह्रो नपर्ने नेपालीहरूको जीवनशैली, साँस्कृतिक र राजनीतिक चेतना र व्यवहार अनेक प्रकारका परिवर्तनबाट गुज्रियो। अहिले टिकटकलाई अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको सम्वर्द्धन गर्ने साधनको रुपमा व्याख्या गर्नेहरु पनि छन् र जनसाधारणको बुद्धि नष्ट गरी उपभोक्तावादी दास मनोवृत्तिको विकराल स्थिति सिर्जना गर्ने वाहियात चीज मान्नेहरु पनि छन्।
सदाचारको पल्लो छेउमा पुगेर टिकटकको अम्मली बनेका प्रयोगकर्ताले दाबी गरे - टिकटकले साधारण मानिसको प्रतिभा प्रबर्द्धन गर्यो, आर्थिक उपार्जनको सजिलो बाटो खुला गर्यो, विकृत राजनीतिले मानसिक रोगी बनाउन लागेको आम मानिसलाई मनोरञ्जन दिएर बँचायो, राजनीतिक विसङ्गति विरुद्ध गतिलो आमवृत्तको काम गर्यो आदि। यसको विपक्षमा पनि मननीय तर्क छन् - टिकटकले सामाजिक सदाचार ध्वस्त बनाइरहेको छ र मान्छेका सम्बन्धहरूमा घातक प्रदूषण घोलिरहेको छ, मान्छेलाई सस्तो र मूखयतः यौनजन्य उपयोगितावादी मनोरञ्जनको पिँजडामा जकडेर कुँजो बनाइरहेको छ, स्कूले बालबालिकालाई पठनबाट अनावश्यक रुपमा विचलित गराएको छ, यसले राजनीतिक रुपमा आम मान्छेमा झन् बढी बेवास्ताभाव हुर्काएको छ, आम मानिसको वास्तविक विरोधी भावना र विवेकलाई निस्तेज तुल्याउन यो सफल भइरहेको छ, आदि इत्यादि।
त्यसैले टिकटक प्रतिबन्धले सिर्जना भएको विचारको यो कोलाहलमा सरकारको नियत केलाउनु आफ्नो ठाउँमा जायज होला, तर टिकटकसँगै जोडिएका तमाम सामाजिक जीवनका प्रश्नहरूको जाँच भने अत्यन्त महत्त्वपूर्ण कुरा हो भन्ने कुरामा ध्यान दिनुपर्ने होइन र?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।