बाँके– नेपालगञ्जमा आज (मंगलबार) बृहत् सद्भाव पदयात्रा आयोजना गरिएको छ। सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितमा पदयात्रा निकालिएको हो।
बीपी चोकबाट सुरु भएको पदयात्राले मुख्य बजारको परिक्रमा गरेको थियो। सामाजिक सद्भाव नेपालगञ्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन पदयात्रा आयोजना गरिएको बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगीले बताए।
जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सद्भाव प्रगाढ बनाउन पदयात्रामा सहभागी हुन सबैलाई अपिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए।
‘सामाजिक सद्भावको नमूना सहर नेपालगञ्ज हरेक धार्मिक सम्प्रदाय, जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग र समुदायको साझा चौतारी हो,’ नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भने, ‘नेपालगञ्जको शान्त सामाजिक सद्भाव र आपसी एकतामा खलल पुर्याउन खोज्नेविरुद्ध फेरि एकपटक नेपालगञ्जवासीले अभूतपूर्व एकता देखाउनुपर्ने अवस्था आएको छ।’
नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोही कसैबाट पनि हुने सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउन नहुने बताए। कुनै पनि व्यक्ति, सङ्घ संस्था वा समुदाय विशेषले कसैको धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि किसिमको गतिविधि नगर्न उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।