काठमाडौं- काठमाडौंको डल्लु बस्दै आएका २७ वर्षीय एक युवक ज्वरोको उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगे। असारको २४ गते अस्पताल पुगेका उनलाई सुरुमा डेंगुको शंका गरियो। आवश्यक जाँचपछि उनको रगत परीक्षणका लागि प्रयोगशालामा दिइयो। भोलिपल्ट रिपोर्ट आयो। अस्पतालका चिकित्सक डा शेरबहादुर पुनले रिपोर्ट हेर्दै भने- टाइफाइड रहेछ।
डा पुनले ती बिरामीलाई अस्पतालमा भर्ना गर्दै टाइफाइडको उपचार प्रक्रिया अगाडि बढाए। डा पुनका अनुसार गर्मी मौसम र वर्षातका कारण अस्पतालमा जेठको अन्तिम सातादेखि टाइफाइड र डेंगुसहित झाडापखलाका बिरामीको चाप बढ्दै गएको छ।
टेकु अस्पतालमा मात्र होइन, जेठको दोस्रो सातादेखि वीर अस्पताल, पाटन अस्पताल, भक्तपुर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा समेत टाइफाइड, हेपाटाइटिस ई, डेंगुका बिरामी बढ्दो क्रममा रहेको अस्पतालका निर्देशकहरुले जानकारी दिए।
काठमाडौं उपत्यका बाहिरका चितवनस्थित भरतपुर अस्पताल, भेरी अस्पताल, नारायणी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोही अस्पताल, सेती अस्पतालमा पनि गर्मी र वर्षातसँग जोडिएका रोग तथा समस्या लिएर उपचारका लागि आउने बिरामीको संख्या बढिरहेको अस्पताल निर्देशकहरुले जानकारी दिए।
सबै अस्पतालका निर्देशकले उपलब्ध गराएको विवरण अनुसार गर्मी र वर्षातको समयमा सबैभन्दा धेरै झाडापखला, डेंगु, टाइफाइड, भाइरल, हेपाटाइटिस ई, छालामा संक्रमण, आँखा पक्ने जस्ता बिरामी देखिएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने डेंगुका बिरामी अत्यधिक मात्रामा आउन थालेपछि छुट्टै डेंगु वार्ड नै सञ्चालनमा ल्याइएको छ। प्रतिष्ठानले डेंगुसहित यो समयमा देखिने अन्य रोगको उपचारका लागि टिम खटाइरहेको जनाएको छ। प्रतिष्ठानले गर्मी र वर्षातका समयमा धेरै देखिने रोग र समस्याको व्यवस्थापन र उपचारका लागि पहिलेदेखि नै तयारी गरेको जानकारी दिएको छ।
अस्पताल र स्वास्थ्य संस्थाहरुमा यो समयमा धेरै मात्रामा दूषित पानी र खानाका कारण हुने रोग तथा समस्या, लामखुट्टे तथा किराफट्याङ्ग्राका कारण हुने रोगहरु, फोहोर तथा हिलोका कारण हुने संक्रमण बढी देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनी बताउँछन्। त्यसकारण महाशाखाले वैशाखदेखि असोजसम्म यस्ता रोगको व्यवस्थापन र उपचारका लागि तयारी अवस्थामा रहन र विशेष सतर्कता अपनाउन आग्रह गर्ने गरेको जानकारी दिए।
महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीका अनुसार यो समयमा सरुवा रोगहरु फैलने खतरा एकदम धेरै हुन्छ। ‘वर्षातको समयमा पानी तथा खानेकुराहरु फोहोर हुने र हावामा ओस बढ्नुका साथै विभिन्न स्थानमा जम्ने फोहोर पानीका कारण झिंगा वा लामखुट्टे मौलाउँछन् र रोग छिट्टै नै फैलने गर्छ,’ उनले भने, ‘जसका कारण यो समयमा झाडापखाला, हैजा, टाइफाइड, भाइरल, जण्डिस, आँउ, निमोनिया, औलो, डेंगु, कालाजार, रुघाखोकी, पेटमा इन्फेक्सन, छालामा फंगस, आँखा पाक्ने जस्ता रोगको संक्रमण ह्वात्तै बढ्छ।’
वर्षातको समयमा आउने बाढी–पहिरो जस्ता प्राकृतिक विपत्तिसँगै सरुवा रोगको संक्रमण पनि सँगै फैलने खतरा रहने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारी बताउँछन्। ‘बाढी–पहिरो गएको क्षेत्रमा शुद्ध पिउने पानीको समस्या हुन्छ। पानीको स्रोत दूषित हुनुका साथै खानेकुराको समेत समस्या हुने हुँदा ती प्रभावित क्षेत्रमा रोगको पनि बाढी आउने खतरा हुन्छ,’ उनले भने, ‘त्यसकारण यो समयमा बढी नै सचेत हुन आवश्यक हुन्छ।’ उनका अनुसार प्रभावित क्षेत्रका मानिसहरु एकै स्थानमा बस्नुपर्ने अवस्था आउँदा अन्य सरुवा रोग छिटो सर्ने खतरा पनि यो समयमा बढी हुन्छ।
गर्मी र वर्षातको समयमा हुने अधिकांश रोग र समस्या खानपान र सरसफाइसँग जोडिने भएकाले व्यक्तिगत रुपमा सतर्क रहँदै सावधानी आपनाउन सकेमा धेरै रोग र समस्याबाट जोगिन सकिने डा रुद्र मरासिनी बताउँछन्। ‘लामखुट्टे तथा किराफट्याङ्ग्राको टोकाइबाट जोगिने, शुद्ध पिउने पानी र स्वच्छ खानेकुरा खाने हो भने यो समयमा धेरै रोगबाट जोगिन्छ,’ उनले भने।
वर्षातको समयमा बालबालिकादेखि वृद्धवृद्धा सबैलाई कुनै न कुनै समस्याले सताउने खतरा रहेको चिकित्सकहरु बताउँछन्। वर्षातको समयमा बाढी आएजस्तै अस्पतालमा विभिन्न सरुवा रोगको उपचारका लागि बिरामीको चाप पनि ह्वात्तै बढ्ने डा मरासिनी बताउँछन्।
स्वास्थ्यखबरले देशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका प्रतिनिधिसँग गरेको कुराकानीका आधारमा गर्मी र वर्षातको समयमा धेरै मानिसमा देखिने प्रमुख रोग र समस्यालाई विस्तृतमा प्रस्तुत गर्ने जमर्को गरेको छ।
डेंगु
गत वर्ष महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण यो वर्ष पनि विस्तारै बढ्न थालेको छ। विशेषगरी सुनसरी, धादिङ, दार्चुला र कास्कीमा बिरामीको संख्या तीव्र गतिमा बढ्न थालको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकले देखाउँछ। डेंगुका बिरामी बढ्दै गएसँगै केही अस्पतालहरुले डेंगुका बिरामीलाई लक्षित गर्दै डेंगु क्लिनिक तथा वार्ड समेत सञ्चालन गर्न थालेका छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार अन्तिम सातादेखि डेंगु क्लिनिक सञ्चालन गरिरहेको छ भने साउन पहिलो सातादेखि डेंगु वार्ड नै सञ्चालन गरेको छ। अस्पतालका सूचना अधिकारी डा चुणमणि पोखरेलका अनुसार डेंगुका बिरामीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन र अन्य रोगका बिरामीलाई असर नहोस् भनेर प्रतिष्ठानको कोभिड अस्पताल भवनमा ३० वेडको डेंगु वार्डको व्यवस्था गरिएको छ।
प्रतिष्ठानको आकस्मिक तथा ओपीडीमा आएका डेंगुका बिरामीमध्ये सिकिस्त बिरामीलाई आईसीयू, आकस्मिक वा अन्य वार्डमा उपचारका लागि राखिने र स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने अवस्थाका डेंगुका बिरामीलाई डेंगु वार्डमा भर्ना गरी उपचार गरिने डा पोखरेलको भनाइ छ। अघिल्लो वर्ष महामारीको रुपमा देखिएको डेंगुको संक्रमण अहिले प्रकोप वा महामारीको रुपमा फैलिसकेको छैन। वर्षातको समय भएकाले यो वर्ष पनि डेंगुको प्रकोप बढ्न सक्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।
‘जहाँ हरेक वर्ष व्यापक रुपमा लामखुट्टेहरु उत्पादन हुने स्रोतहरु छन् त्यहाँ डेंगुको संक्रमण बढ्ने जोखिम अझै छ,’ उनले भने, ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष डेंगुले महामारीको रुप लिइसकेको छैन, तर पछिल्लो केही साताको अवस्था हेर्दा यो वर्ष पनि डेंगुको प्रकोप देखिने सम्भावना छ।’
मानिसमा डेंगुको संक्रमण भएमा ४ देखि १० दिनमा यसको लक्षण देखिन थाल्छ। डेंगुको संक्रमण भएमा टाउको दुख्ने, आँखा दुख्ने, शरीर दुख्ने, शरीरका मांसपेसी दुख्ने, शरीरमा स–साना बिमिरा देखिने, ज्वरो आउने, बान्ता हुने, वाकवाक लाग्ने, जटिल अवस्थामा पुगेमा रक्तश्राव हुने लक्षणहरु देखिन्छन्।
डेंगु के हो ?
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यो मानिसबाट मानिसमा भने सर्दैन। तर डेंगु संक्रमण भएको व्यक्तिलाई एडिस जातको लामखुट्टेले टोकेर फेरि अर्को मानिसमा त्यही लामखुट्टेले टोक्यो भने सर्छ। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई र एडिस एल्वोपिक्टस जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्छ। सहरी क्षेत्रका सवारी साधनका फालिएका टायर, टिनका बट्टा, गमला, खाली ड्रम, पानी ट्यांकी तथा साना खाल्डाखुल्डीहरुमा यो लामखुट्टे बढी भेटिन्छ।
डा शेरबहादुर पुनका अनुसार डेंगु एडिस एजेप्टाई र एडिस एल्वोपिक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। यसले मानिसमा १०५ डिग्री फरेनहाइटसम्म ज्वरो ल्याउन सक्छ। डेंगुका बिरामीमा मांसपेसी अत्यधिक दुख्ने तथा आँखको गेडी दुख्ने समस्या धेरैमा हुन्छ। वरिष्ठ माइक्रोबायोलोजिष्ट मेघराज बञ्जाराका अनुसार संक्रमित लामखुट्टे टोकेमा तीनदेखि ५ दिन भित्रमा मानिसमा डेंगुको लक्षण देखिन्छ। डेंगु भाइरस डेन १, डेन २, डेन ३ र डेन ४ गरी चार सरोटाइपका हुन्छन्।
चिकित्सकहरुका अनुसार डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारका छन्। क्लासिक डेंगु सामान्य प्रकारको हो। यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। डेंगु हेमोरेजिक र डेंगु सक सिन्ड्रोम भने अलिक जोखिमयुक्त हुन्छ। आन्तरिक रक्तश्राव गराएर मानिसको मृत्यु गराउने खालको हुन्छ।
लक्षण
– उच्च ज्वरो
– जीउ दुख्ने
– आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने
– जोर्नी दुख्ने
– शरीरमा बिमिरा आउने
– वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने
– बेहोस हुने आदि।
बच्ने उपाय
– डेंगुबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको नै लामखुट्टेको टोकाइबाट बच्ने हो।
– बिरामी भइसकेपछि लक्षणका आधारमा उपचार।
– बिरामी भइसकेपछि चिकित्सकको सल्लाह अनुसार प्यारासिटामोल सेवन गर्ने।
– लामखुट्टोको वृद्धि विकास रोक्ने।
– पानी जम्ने भाँडाहरु गमला, फूलदानी, ड्रम, टायर आदिमा पानी जम्न नदिने।
– यस लामखुट्टेले धेरैजसो दिउँसो टोक्ने भएकाले बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने।
– सुत्दा झुलको अनिवार्य प्रयोग गर्ने।
– लामखुट्टे भगाउने धुप तथा मल्हम दल्ने।
– घर तथा कार्यालय वरिपरि सफा–सुग्घर राख्ने।
औलो
औलो एक प्रकारको सरुवा रोग हो। यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ। नेपालमा प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स गरी दुई जातको औलो परजीवी भएको पाइन्छ। प्लाज्मोडियम फाल्सिपेरम जातको औलो परजीवी बढी घातक हुने र यसबाट मानिसको मृत्यु नै हुने जोखिम रहन्छ।
सरुवा रोग विशेषज्ञ डा पुनका अनुसार एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा औलो रोग सर्छ। औलो रोग लागेका मानिसहरुमा पसिनासहित कामज्वरो आउने, ज्वरो कम भएपछि जाडो हुने, नियमित वा दिन बिराएर ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, रक्तअल्पता हुने, बेहोस हुने, हाडजोर्नीहरु दुख्ने, गम्भीर तथा जटिल औलो भएमा सुस्त वा बेहोस हुने लक्षण देखिन्छ।
औलोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, लामखुट्टेको लार्भा नष्ट गर्ने, लामखुट्टे हुर्कने वातावरण नबनाउनु नै प्रमुख उपाय भएको उनले बताए।
नेपालमा स्थानीय र आयातित गरेर दुई किसिमको औलो देखिने गरेको छ। सरुवा रोग विशेष डा पुनका अनुसार नेपालमै देखिने स्थानीय औलोभन्दा पनि नेपालमा आयातित औलोको जोखिम बढी रहेको छ। भारत र अफ्रिकन मुलुकबाट नेपाल आउने व्यक्तिले औलो लिएर आउने र नेपालमा पनि फैलिने जोखिम भने जुनसुकै समयमा पनि रहेको डा पुनले बताए।
स्क्रब टाइफस
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हरेक वर्ष असारदेखि कात्तिकसम्म स्क्रब टाइफसको संक्रमण देखिने गरेको छ। यो पनि एक किसिमको सरुवा रोग हो। स्क्रब टाइफस मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्छ। माइटमा पाइने ओरिन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट यो रोग लाग्छ।
डा पुनका अनुसार स्क्रब टाइफस संक्रमण भएको ५ देखि २० दिनमा लक्षणहरु देखिन्छ। धेरै ज्वरो आउनु, काम ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, विस्तारै शरीरका मुख्य अंगहरुले काम गर्न छाड्नु यसका लक्षण हुन्।
स्क्रब टाइफस भएका बिरामीको समयमा उपचार नहुँदा कडा खालको श्वासप्रश्वासमा समस्या हुने, दम बढ्ने, श्वास फेर्न गाह्रो हुने र सिकिस्त बिरामी हुने जोखिम रहन्छ। यस्तै माइटले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन सक्छ र टोकेको ठाउँमा पछि कालो दाग बस्न सक्छ।
झाडी, खेतबारी, बनजंगल, घर वरिपरको झाडी वा घुरानमा माइट हुने र त्यसैको टोकाइबाट मानिसमा यो रोग लाग्ने जोखिम रहन्छ। विशेषगरी पडाही क्षेत्रमा खेतबारीमा काम गर्ने तथा बनजंगलमा घाँस, दाउरा गर्ने व्यक्तिहरुमा यो रोगको जोखिम बढी हुने डा पुनको भनाइ छ।
पछिल्लो समय शहरी क्षेत्रमा बस्ने मानिसहरु पनि ट्रेकिङ, हाइकिङ जाने प्रचलन बढेकाले शहरी क्षेत्रमा पनि यो रोगका बिरामी देखिन थालेको डा पुनले सुनाए।
‘पहिलापहिला मुसा धेरै हुने पहाडी क्षेत्रमा बस्नेहरुमा स्क्रब टाइफस भएको पाइन्थ्यो,’ डा पुनले भने, ‘अहिले शहरमै बस्ने मानिसहरु पनि बनजंगल वा ग्रामीण क्षेत्रमा हाइकिङ, टे«किङ जाने प्रचलन बढेको छ। यसले पनि उनीहरुमा यो रोगको जोखिम बढेको छ।’
झाडापखला र हैजा
वर्षातको समयमा देखिने गरेको अर्को समस्या झाडापखला हो। झाडापखाला पानीजन्य रोग हो। सरुवा रोग विशेषज्ञ डा पुनका अनुसार सामान्यतया २४ घण्टामा तीन वा सो भन्दा बढी पटक पानी जस्तो पातलो दिसा भएमा पखाला लागेको भनिन्छ। झाडापखाला लाग्ने कारणहरु धेरै किसिमका हुन्छन्।
झाडापखलाको समस्या देखिनुको प्रमुख कारण हैजा पनि हो। हैजाको प्रकोपको कारण कहिलेकाहीँ बालबालिकाको मृत्यु समेत भएको रेकर्ड छ। गत वर्ष काठमाडौंमै समेत हैजा फैलिएको अवस्था थियो। चौलानी पानी जस्तो पातलो दिसा बारम्बार लाग्ने, पेट दुख्ने, बान्ता हुने, वाक–वाक लाग्ने, खुट्टा तथा पेटको मांसपेसीहरु बाउँडिने यसका लक्षण हुन्।
डा पुनका अनुसार लक्षणविहीन हैजाका बिरामीले हैजा फैलाउने जोखिम बढी रहन्छ। ‘हैजाको लक्षण देखिएको मानिसले उपचार गराउँछ, निको हुन्छ। स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिएको हुन्छ, जसले गर्दा उनीहरुबाट नै हैजा फैलिने जोखिम कम रहन्छ,’ डा पुनले भने, ‘तर लक्षणविहीन हैजाका बिरामीले १० दिनसम्ममा हैजा फैलाउने जोखिम रहन्छ। लक्षण नदेखिएपछि व्यक्तिलाई थाहा हुँदैन। संक्रमित व्यक्तिले शौच गरेको ढल व्यवस्थित छैन र त्यो हामीले प्रयोग गर्ने पानीमा मिसियो भने हैजाले महामारीकै रुप लिन सक्छ।’
पछिल्लो समयमा शहरी क्षेत्रमा जारको पानीको प्रयोग बढेको छ। विभिन्न समयमा हुने अनुगमन तथा अनुसन्धानबाट जारको पानीमा फेकल कोलिफर्म देखिएको पनि पाइन्छ। यसको अर्थ पानीमा दिसा मिसिएको अवस्था हो। पानीको स्रोतमा कोलिफर्म देखिएमा पानीजन्य रोगहरुको जोखिम रहने डा पुनले बताए। पानीको स्रोत दूषित भएमा झाडापखालासँगै ज्वरो आउने, टाइफाइड हुने लगायतका रोगको जोखिम समेत हुन्छ।
टाइफाइड
गर्मी र वर्षातको समयमा वर्षेनी देखिने सरुवा रोग टाइफाइड पनि हो। टाइफाइडको ब्याक्टेरिया मिश्रित पानी वा खानेकुरामार्फत टाइफाइडको संक्रमण फैलने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। टाइफाइड सल्मोनेला टाइफी तथा सल्मोनेला पाराटाइफी ब्याक्टिेरियाको कारणले हुने गर्छ। टाइफाइड भएका कतिपय बिरामीहरु क्लिनिकबाट औषधि किनेर खाने र रोगले कडा रुप लिएपछि मात्र अस्पताल आउने हुने टाइफाइडका बिरामी देखिए पनि यसले समुदायमा प्रकोपको रुप लिए नदिएको भन्ने विषयमा यकिन हुन नसकेको डा पुनको तर्क छ।
उनी भन्छन्, ‘टाइफाइडले गलाइसकेपछि मात्र बिरामीहरु उपचारका लागि आउने गरेको भेटिन्छ,’ डा पुनले भने, ‘आजभोलि अस्पतालहरुमा आउने बिरामीमा परीक्षण गर्दा टाइफाइड पुष्टि भइरहेको छ।’
डा पुनका अनुसार उच्च ज्वरो आउने, कमजोर हुने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने, कब्जियत हुने वा पखाला लाग्ने, छालामा रातो बिमिरा देखिने टाइफाइडका लक्षण हुन्। वर्षातको समयमा हुने अन्य किटजन्य तथा पानीजन्य रोगहरुमा हुने लक्षणसँग मिल्दोजुल्दो लक्षण यसमा पनि हुने भएकाले प्रयोगशाला परीक्षणबाट नै यो रोग लागेको पुष्टि गर्न सकिने डा पुनले जानकारी दिए।
पछिल्लो समय टाइफाइडका बिरामी बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले टाइफाइडबाट बच्न व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने र वातावरण स्वच्छ राख्नुपर्ने बताए।
उनले भने, ‘सफा चर्पीको प्रयोग गर्ने, बच्चाको दिसा चर्पीमा फाल्ने, बेलाबेलामा साबुनपानीले हात धुने, राम्ररी पकाएको खानेकुरा मात्र खाने गर्यौं भने यो रोगबाट बच्न सकिन्छ।’
टाइफाइड लगायतका रोगबाट बच्न पानी उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गरी सफा र सुरक्षित पानी पिउन उनको सुझाव छ।
ज्वरो
वर्षातको समयमा धेरै व्यक्तिमा ज्वरो आउने समस्या पनि बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चिकित्सकहरुका अनुसार वर्षातको समयमा किटजन्य, पानीजन्य र सरुवा रोगहरुमा ज्वरोको लक्षण देखिन्छ। तर त्यो बाहेक कारण थाहा नै नभएको ज्वरोका बिरामीहरु पनि गर्मी र वर्षातको समयमा बढी हुने गरेको चिकित्सकहरुको भनाइ छ।
‘हाम्रो अस्पतालमा आउने ज्वरोका बिरामीमध्ये कारण थाहा नभएकाको संख्या सबैभन्दा बढी छ,’ डा पुनले भने, ‘ज्वरोका बिरामीमा शंका लागेका करिब ५÷६ प्रकारका प्रयोगशाला परीक्षण गरिन्छ तर कुनै पनि रोग वा संक्रमण देखिँदैन। वर्षातको समयमा यसरी कारण थाहा नभएका ज्वरोका बिरामीहरु धेरै आउँछन्।’ वर्षातको समयमा ज्वरोका लक्षण लिएर आउने बिरामीमा टाइफाइड, डेंगु, हेपाटाइटिइस, औलो, स्क्रब टाइफस जस्ता रोग धेरै देखिन्छन्।
भाइरल हेपाटाइटिस
गर्मी तथा वर्षातको समयमा मानिसहरुमा देखिने अर्को रोग हो, भाइरल हेपाटाइटिस ‘ए’ र ‘ई’। जसलाई सर्वसाधारणले जण्डिस भएको भनेर पनि बुझ्ने गर्छन्। आँखा पहेलो हुने मुख्य लक्षण रहेको हेपाटाइटिस ए र ई सर्ने मुख्य कारण पानीबाट नै भएको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको भनाइ छ। हेपाटाइटिस एभन्दा ईलाई बढी खतरनाक मानिन्छ। गर्भवती महिलामा हेपाटाइटिस ई भएमा मृत्यु हुने जोखिम बढी रहेको डा पुनले बताए। हेपाटाइटिस ए र ई पनि भाइरल इन्फेक्सन भएको डा पुनको भनाइ छ।
ज्वरो आउने, आँखा पहेंलो हुने, दिसा पहेंलो हुने, खाना खान मन नलाग्ने, पिसाब खैरो आउने लक्षण यसमा देखिन्छ।
‘भाइरल हेपाटाइटिस पनि पानी र खानेकुराको माध्यमबाट नै सर्ने रोग हो,’ उनले भने, ‘भाइरल इन्फेक्सन भएकाले एक महिनामा बिरामी बल्ल ठिक हुने हुन्छन्।’
लेप्टोस्पाइरोसिस
वर्षातको समयमा देखिने अर्को रोग हो लेप्टोस्पाइरोसिस। जनावरमा हुने ब्याक्टेरियाका कारण मानिसमा सर्ने रोग हो यो। सरुवा रोग विशेषज्ञ डा पुनका अनुसार संक्रमित जनावरको पिसाब मिश्रित पानी प्रयोग गर्दा मानिसमा लेप्टोस्पाइरोसिस रोग लाग्ने जोखिम रहन्छ।
विशेषगरी वर्षातको समयमा बाढीको प्रकोपमा परेका मानिसहरुमा यो रोग लाग्ने गरको डा पुनको भनाइ छ। लेप्टोस्पाइरोसिसको संक्रमण भएको मानिसमा २ देखि ४ हप्ताम्ममा यसको लक्षण देखिन्छ।
यसको लक्षण दुई चरणको हुन्छ। पहिलो चरणमा जीउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखिन्छ। दोस्रो चरणको लक्षण देखियो भने बिरामीमा कलेजो र मिर्गौलामा पनि समस्या हुने र समयमा उपचार नपाए बिरामीको मृत्यु नै हुने जोखिम रहने डा पुनको भनाइ छ।
‘बाढी पहिरोको जोखिममा रहेका र खेती–किसानीमा संलग्न मानिसहरु यो रोगको जोखिम हुने भएकाले वर्षातको समयमा यो रोगप्रति सचेत हुनुपर्छ,’ डा पुनले भने।
कालाजार
गर्मीको समयमा नेपालमा देखिने अर्को रोग हो कालाजार। विशेषगरी तराईको क्षेत्रमा माटोभित्र पाइने भुसुनाबाट मानिसमा यो रोग सर्ने गर्छ। कालाजार भएमा मानिसमा २ देखि ६ महिना भित्रमा लक्षण देखिने सरुवा रोग विशेषज्ञ डा पुनको भनाइ छ।
सरकारले सन् २०२० मा नै कालाजार उल्मुलनको घोषणा गर्ने लक्ष्य लिएको थियो। तर नेपालमा अहिले पनि कालाजारका बिरामी भने देखिने गरेका छन्। सामान्य ज्वरो आएको अवस्थामा बिरामी अस्पताल नआउने र पेट फुल्लिन थालेपछि मात्र बिरामी उपचारका लागि अस्पताल आउने गरेको घटना डा पुनले सुनाए।
उनले भने, ‘कालाजारका बिरामी केही वर्ष अघिजस्तो व्यापक रुपमा छैनन्, तर नेपालमा अझै पनि यो रोगका बिरामी भएको घटना सुनिन्छ।’
जुका
मानिसको शरीरमा परजीवी पसेर पेटमा जुका लाग्ने गर्छ। परजीवीबाट मानिसमा हुने रोगमध्ये जुका सबैभन्दा धेरै लाग्ने रोग हो। यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्छ। जुका बालबालिकामा बढी देखिने भएकाले बच्चाको सरसर्फामा विशेष ध्यान दिनुपर्छ।
जथाभावी दिसा गर्ने, राम्ररी साबुनपानीले हात नधुने, काँचो खानेकुरा राम्ररी धोइपखाली नगरी नखाने, खाली खुट्टा हिँड्नाले यो रोग लाग्छ। बच्चाहरुलाई खाना बनाउनुअघि, खुवाउनुअघि, दिसा सफा गरेपछि आमाबुबाले राम्ररी हात नधोएमा बच्चालाई जुका लाग्न सक्छ।
जुका मानिसको आन्द्रामा बसेर हुर्किने र बाँच्ने परजीवी भएकाले मानिसको आन्द्राबाट पोषिलो खानाको साथै रगत समेत चुसेर आफ्नो जीवन निर्वाह गर्छ। यसले मानिसको शरीरको रगत चुस्ने भएकाले जुनका लागेको मानिसलाई कुपोषण तथा रगतको कमी जस्ता समस्या देखिन सक्छ।
जुका परेमा भोक नलाग्ने, पेट दुख्ने, वाकवाक लाग्ने, आँखा, छाला, जिब्रो, ओठ र नङ फुस्रो देखिने, रिँगटा लाग्ने, आँखा तिरर्मिराउने समस्या देखिन्छ।
जुका लाग्न नदिन चर्पीमा दिसापिसाब गर्ने र गराउने, खाना बनाउनुअघि, खाना खानुअघि र बच्चालाई खाना खुवाउनुअघि, दिसा गरेपछि, बच्चाको दिसा धोएपछि र फोहोर कुरा छोएपछि साबुनपानीले हात राम्ररी धुनुपर्छ।
घरबाहिर जाँदा जहिले पनि जुत्ता या चप्पल लगाउने, काँचो खानेकुराहरु जस्तो हरियो सागपात, गाँजर मुला, काँक्रो, धनियाँ आदिलाई राम्ररी सफा पानीले धोइपखाली वा पकाएर खाने गर्नुपर्छ। यस्तै १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधिको एक मात्रा ६–६ महिनाको फरकमा खुवाउनुपर्छ।
छालामा संक्रमण
वर्षात र गर्मीको समयमा छालमा पनि विभिन्न संक्रमण देखिने गर्छ। यो समयमा सबैभन्दा धेरै हिलोमा काम गर्ने किसानको छालामा बढी समस्या देखिन्छ। हिलोलो औंलाको कापमा घाउ हुने समस्याले धेरैलाई सताउने वीर अस्पतालकी छाला रोग विशेषज्ञ डा अनुपमा कार्की बताउँछिन्। वर्षातको समयमा फंगल तथा ब्याक्टेरियल संक्रमणका कारण यस्ता समस्या देखिने गरेको उनले जानकारी दिइन्।
पाटन अस्पतालका छाला रोग विशेषज्ञ डा भाष्करमोहन कायस्थका अनुसार गर्मीमा पसिना, वायुमा आद्र्रताको वृद्धि अनि शरीर गुम्सिना हुँदा छालामा संक्रमणको खतरा बढी नै हुने गर्छ। ‘कास लाग्नु, खुट्टा पानी÷हिलोले खानु, नङमा हलो छिरेर संक्रमण हुनु लगायतका समस्या गर्मी र वर्षातको समयमा बढी देखिन्छ,’ उनले भने।
छाला रोग विशेषज्ञहरुका अनुसार फंगल इन्फेक्सन हुँदा हात र खुट्टाको औँलाको बीचमा चिलाउने, रातो हुने र छाला उप्किएर छालामा टिकटिक सेतो छाला देखापर्ने, छालामा गोलो रिङ आकार बन्ने, छालामा फोका उठ्ने, कपाल झरेर घाउ हुने लगायतका समस्या देखा पर्छन्।
पानीमा रुझ्दै हिँड्ने तथा धेरै काम गर्ने, हिलोमा काम गर्ने, दिनभर जुत्ता लगाउनुपर्ने, कस्सिएको (टाइट) कपडा÷भित्री वस्त्र लगाउने, सरसफाइको कमी हुँदा छालाका समस्या यो समयमा धेरै देहिने हुँदा सरसफाइमा ध्यान दिन उनको सुझाव छ।
गर्मी र वर्षातमा लाग्ने रोगबाट कसरी बच्ने?
व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान दिनसके गर्मी तथा वर्षातको समयमा लाग्न सक्ने धेरै रोगमा बच्न सकिने सरुवा रोग विशेषज्ञ डा पुन बताउँछन्। वर्षातको समयमा पानीको स्रोत सहजै दूषित हुन सक्ने भएकाले पानीको प्रयोगमा विशेष ध्यान दिनुपर्ने डा पुनले बताए।
उनले भने, ‘घरमा धारामा आउने पानी होस् वा किनेर ल्याइने जारको पानीमा आँखाले देख्न नसक्ने किटाणु तथा जीवाणुहरु हुन सक्छन्, त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खानुपर्छ।’ किटजन्य रोगहरुबाट बच्न ग्राणीम क्षेत्रमा खेतबारी वा बनजंगलमा काम गर्ने व्यक्तिले किटजन्य रोगबाट बच्ने उपायबारे सजग हुनुपर्ने उनले बताए।
‘खेतबारी वा बनजंगलमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउने, सुरक्षाको साधन प्रयोग गर्ने गर्नुपर्छ,’ डा पुनले भने, ‘काम पूरा गरेपछि आफ्नो सरसफाइ र घर वरपरको सरसफाइमा पनि ध्यान दिनुपर्छ।’
गर्मी र वर्षातमा देखिने रोग र समस्याबाट जोगिने उपाय
- पानी राम्ररी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने
- खानेपानीको मुहान सफा राख्ने
- खाना खानुअघि, दिसा गरिसकेपछि, फोहोरमैला छोएपछि, बच्चाको दिसा धोएपछि साबुनपानीले हात मिचीमिची धुने
- बासी, सडेगलेको, झिँगा बसेको र खुला रुपमा राखिएका खानेकुराहरु नखाने
- त्रिपाल, घर, आँगन, चोक, चर्पी सफा राख्ने
- जथाभावी दिसा–पिसाब नगर्ने
- त्रिपाल तथा टेन्टमा अस्थायी शौचालय बनाउने
- सफा र ताजा खानेकुरा पर्याप्त मात्रामा खाने
- काँचै खाइने खानेकुरा सफा पानीले राम्ररी पखालेर मात्र खाने
- बासस्थान वरिपरि लामखुट्टे बस्ने बासस्थान नष्ट गर्ने
- लामखुट्टे तथा किरा–फट्याङ्ग्राको टोकाइबाट जोगिने
- राति सुत्दा सधैं झुल प्रयोग गर्ने
- दिनमा तीन/चार पटक सफा पानीले मुख धुने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।