काठमाडौं– नेपालमा डेंगु भाइरसको संक्रमण बढ्दै गएको देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभर १० हजार ७२६ जनालाई डेंगु संक्रमण देखिएको छ।
डेंगुको संक्रमण ७४ जिल्लामा फैलिएको महाशाखाले जनाएको छ। डेंगुको संक्रमणबाट हालसम्म ७ जनाको मृत्यु भइसकेको छ।
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु संक्रमण बढिरहेको बताए। उनले यसैगरी डेंगु संक्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने उनको भनाइ छ। सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो।
डेंगुका संक्रमित सबैभन्दा बढी कोशी प्रदेशको सुनसरी जिल्लामा छन्। महाशाखाका अनुसार सुनसरीमा ६ हजार ४१ जनामा डेंगु संक्रमण देखिएको छ। डेंगु पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्छ।
यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा ८ हजार १०९ जना, बागमती प्रदेशमा १ हजार ४५३ जना, गण्डकी प्रदेशमा ४७१ सुदूरपश्चिम प्रदेशमा ३९३ जना, लुम्बिनी प्रदेशमा २१५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा संक्रमण देखिएको छ। नयाँ देखिएका बिरामीमध्ये ९ हजार ६१२ (८९ दशमलव ६० प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन्।
सुनसरीपछि मोरङमा १ हजार ३४४, धादिङमा १ हजार २७ जना, कास्कीमा २२५ जना, धनकुटामा २२३, दार्चुलामा १९२ जना, झापामा १८२, काठमाडौंमा १५१ संखुवासभामा १४८ जना र तनहुँमा ७९ जना डेंगुका बिरामी भेटिएका छन्। नेपालमा पहिलोपटक सन् २००४ मा १ जनामा डेंगु देखिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबाट बच्नका लागि लामखुट्टैको टोकाइबाट बच्नुपर्ने जनाउँदै सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ। यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन मन्त्रालयले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।