जाकर्ता (इन्डोनेसिया)- १८औं एसियाली खेलकुदमा नेपालले आठौं दिन पनि पदक जित्न सकेको छैन। आठौं दिन नेपालले करातेबाट पदक जित्ने २ सम्भावना गुमाएको छ।
करातेको महिला कातामा प्रतिस्पर्धा गरेकी चन्चला दनुवारले कास्य पदक जित्ने सम्भावना गुमाइन्। चन्चला अन्तिम १६ को खेलमा मकाउकी साउ सो लामसँग ५-० ले पराजित भएकी थिइन्। लामले फाइनलमा स्थान पक्का गरेपछि चन्चलाले कास्य पदकका लागि हुने रिपाचे खेल्न पाइन्। रिपचेजको पहिलो खेलमा चन्चलाले उत्तर कोरियाकी खेलाडी काङ जु उइलाई ३-२ अंकले पराजित गर्दै कास्य पदक नजिक पुगेकी थिइन्। कास्य पदकका लागि चन्चलाले थाइल्यान्डकी मोन्सीचा नाराराताकसँग प्रतिस्पर्धा गरिन्। तर यो खेलमा उनी ५-० ले पराजित हुँदा नेपालले कास्य जित्ने मौका गुमाएको थियो।
करातेबाट नेपालले अर्को पदकको मौका पनि गुमायो। महिला ६८ केजी माथि तौल समूहमा रिता कार्कीले पदक ल्याउने मौका गुमाकी हुन्। उनी क्वार्टरफाइनलमा चीनकी गाओ मेनमेनसँग पराजित भएकी थिइन्। चीनकी गाओ फाइनल पुगेपछि रिताले कास्य पदकका लागि हुने रिपचेज खेल्न पाएकी थिइन्।
रिपाचेमा उनको भिडन्त पाकिस्तानकी खेलाडीसँग तय हुँदा नेपालको पदकको आसा बढेको थियो। पाकिस्तानकी नार्गिसविरुद्धको खेलमा रिता सुरुवातमै आक्रमक बनिन्। सुरुवातमा १ अंक जोड्दै रिताले अग्रता समेत लिन सफल भएकी थिइन्। तर पाकिस्तानले रिभ्यू माग्दै बराबरी गर्न सफल भयो। त्यसपछि पाकिस्तानकी खेलाडी रितामाथि हाबी भइन्। उनले ३० सेकेन्ड बाँकी छदा २ अंकको अग्रता लिइन् र नेपालको पदकको आसा तुहियो। पाकिस्तानकी खेलाडी सिधैं सेमिफाइनलमा पुगेकी थिइन्। किनकी यो तौल समूहमा ७ खेलाडीले मात्र प्रतिस्पर्धा गरेका थिए।
यता करातेको पुरुष कातामा नेपालका पर्शुराम बास्तोला अन्तिम १६ बाटै बाहिरिए। उनी अन्तिम १६ को खेलमा कतारका हसेम अदामसँग ५-० अंकले पराजित भएका थिए।
करातेमा आइतबार नेपालका सोनामा लामाले ६० केजी मुनी तौल समूहमा भियतनामका खेलाडीसँग, ६७ केजी मुनि विजय लामाले जापानका खेलाडीसँग र सुनीता महर्जनले ६१ केजी मुनी तौल समूहमा थाइल्यान्डकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।