राजविराज– कानुन संकायमा स्नातक तहको पढाइ भइरहेको सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविब क्याम्पस) मा स्नातक तर्फ मानविकी(बिए) तथा कानुन तर्फ स्नातकोत्तर तह( एलएलएम)को पठन–पाठन सञ्चालन गर्न तयारी सुरु भएको छ।
६२औं क्याम्पस दिवसका अवसरमा क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले बिए, र एलएलएमको पठनपाठनका लागि पहल भइरहेको र चाँडै त्यसले मुर्तरुप लिने दाबी गरे। उनले शिक्षा संकायलाई आंगिक रुपमा सञ्चालनका लागि पनि त्रिभुवन विश्वविद्यालयसँग अनुरोध गरिने बताए।

त्रिविभन्दा पनि जेठो क्याम्पस भएर पनि मविब क्याम्पसमा सुधार गर्नुपर्ने पक्ष धेरै रहेको बताउँदै मिश्रले क्यापसको कभर्ड हल/कन्फ्रेन्स हलको काम आव २०७५०७६ भित्रै सम्पन्न गरी सञ्चालनमा ल्याइने, क्याम्पस भवनको मर्मत सम्भार गरिने, शिक्षक/कर्मचारी आवास गृहको वरीपरी पर्खाल निर्माण गरिने, ३५ हजार ५ सय ३४ पुस्तक रहेको पुस्तकालयलाई व्यवस्थित गरीने र ‘फ्रि वाइफाई’को व्यवस्था गरिने बताए।
भारतीय दूतावासको सहयोगमा निर्माणाधिन अधुरो कन्या छात्रावास भवन क्याम्पसलाई हस्तान्तरण गर्न पनि उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

तत्कालिन खडकपुर निवासी शिक्षाप्रेमी विन्देश्वरी प्रसाद यादवको सहयोगमा २०१४ सालमा क्याम्पस स्थापना भएको हो। क्याम्पस स्थापनाका लागि लागि यादवले तत्कालीन समयमै १ सय १७ विघा १७ कठ्ठा ६ धुर जग्गा र १० हजार रुपैयाँ नगद सहयोग गरेका थिए। भारतको पटना विश्वविद्यालयबाट स्वीकृति लिएर स्थापित क्याम्पसलाई त्यसको केही समयपछि नै नेपाल सरकारको शिक्षा मन्त्रालयले प्रविणता प्रमाणपत्र तह(आइए) को पठनपाठनको स्विकृति प्रदान गरेको थियो।
हाल मानविकी, कानुन, विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकायको अध्ययन/अध्यापन भइरहेको मविब क्याम्पसमा विभिन्न संकाय गरी कुल १ हजार ६ सय ७५ विद्यार्थी अध्ययनरत छन्।
क्याम्पसमा १ सय ९ जना शिक्षक तथा कुल ३८ कर्मचारी कार्यरत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।