जाकर्ता (इन्डोनेसिया)- १८औं एसियाली खेलकुदको सातौं दिन पनि नेपालको प्रदर्शन निराशाजनक रह्यो। नेपालले खेलेका सातौं खेलमा नेपाली खेलाडीहरुले कमजोर प्रदर्शन गरे। आठौं दिन कराते र प्याराग्लाइडिङका इभेन्ट सुरु हुने भएकाले नेपालले पदकको आसा भने अझै मारिसकेको छैन।
ब्याडमिन्टन
ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका रत्नजित तामाङ र विकास श्रेष्ठ शुक्रबार पराजित भएका छन्। रत्नजित दक्षिण कोरियाका खेलाडीसँग २१–८ र २१–११ तथा विकास जापानका खेलाडीसंग २१–९ र २१–१० को सोझो सेटमा पराजित भए। महिला डबल्समा नेपालका अमिता गिरी र रशिला महर्जनको जोडीलाई दक्षिण कोरियाली जोडीले २१–७ र २१–१ ले सहजै हराए। नेपालले शनिबार दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछ। महिला सिंगल्समा नेपालकी नङशल तामाङले जापान तथा पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले इन्डोनेसियाका खेलाडी विरुद्ध खेल्नेछन्।

पौडी
पौडीमा नेपाली खेलाडीले कुनै पनि स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाउन सकेनन्। नेपालबाट ४ खेलाडी सहभागी थिए। सबैको चुनौती समाप्त भइसकेको छ। चारै खेलाडी हिट चरणबाटै बाहिरिए। शुक्रबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह र टीसा शाक्य ५० मिटर फ्रिस्टायलमा क्रमशः २१ औं र २३ औं स्थानमा रहे। निर्धारित दूरी गौरिकाले २८.५० तथा टीसाले २९.६१ सेकेन्डमा पूरा गरे। ३१ खेलाडीले सहभागिता जनाएका थिए। पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा नेपालका शुभम् श्रेष्ठ सहभागी ३६ मध्ये ३२ औं भए। उनले निर्धारित दूरी तय गर्न ३२.४५ सेकेन्ड समय खर्चे । शिरिषको स्पर्धा यसअघि नै सम्पन्न भइसकेको छ।
फेन्सिङ
फेन्सिङतर्फ पुरुष फोइल टिममा नेपालले हार व्यहोरेको छ । नेपाल फिलिपिन्संग ४५–३ को फराकिलो अन्तरले पछि पर्यो । नेपालबाट राजनराज खड्का, महेशप्रसाद भाट, सन्जिप लामा र शेरसिंह ऐरीले खेलेका थिए ।
भलिबल
पुरुष भलिबलमा नेपाल पराजित भएको छ। समूह ‘सी’ को लिगमा नेपाल दक्षिण कोरियासंग २५–१६, २५–१३ र २५–१४ को सोझो सेटमा पराजित भयो। नेपाल यसअघि चाइनिज ताइपेईसँग पनि ३–० को सोझो सेटमा पराजित भएको थियो। पुरुष भलिबलमा २० राष्ट्र सहाभागी छन्।

बक्सिङ
बक्सिङको महिला ५७ केजी तौल समूहमा नेपालकी संगीता सुनार पहिलो चरणमै पराजित भएकी छिन्। उनलाई थाइल्यान्डकी निलवान टिचासुपले ५-० अंकले पराजित गरिन्। बक्सिङमा शनिबार ४६ देखि २९ केजी तौल समूहमा तेजबहादुर देउवा, ६४ केजीमा भूपेन्द्र थापा र पुनम रावलले ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्।
आर्चरी
आर्चरीको रिकर्भ मिक्स टिम इभेन्टमा नेपाल पराजित भएको छ। नेपाल किर्गिस्तानसंग ५–४ ले पराजित भयो। नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले प्रतिस्पर्धा गरेका थिए। नेपालले शनिबार पुरुष रिकर्भ टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । नेपाली टिममा तिलक पुन मगर, रोशन नगरकोटी र मिनप्रसाद गौचन छन्।
बास्केटबल
पुरुष थ्री बाइ थ्री बास्टेबलको समूह चरणको खेलमा नेपाल चौथो भएको छ। समूह 'सी' को खेलमा माल्दिभ्स डिसक्वालिफाइड भएपछि नेपालले २ अंक पायो। यस्तै अर्को खेलमा नेपाल सिरियासँग २१-१९ ले पराजित भयो। अर्को खेलमा नेपालले जोर्डनलाई २१-१० ले पराजित गर्यो। यसअघि नेपाललाई कतार र जापानले पराजित गरेका थिए।

स्पोर्ट क्लाइम्बिङ
पालेम्वाङमा भएको स्पोर्ट क्लाइम्बिङको पुरुष बोल्डरिङको छनोट चरणमा नेपालका प्रणीलमान श्रेष्ठ र पेम्बा शेर्पा बाहिरिएका छन्। दुवै खेलाडी समग्रमा २१औं स्थानमा रहे।
यसअघि प्रणील र पेम्बा पुरुष स्पिड्स र पुरुष कम्बाइनको छनोट चरणबाटै बाहिरिएका थिए। अब नेपालले शनिबार पुरुष कम्बाइन लिडको छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ।
गल्फ
गल्फको पुरुष व्यक्तिगत स्पर्धाको दोस्रो चरणसम्म नेपालका शुक्रबहादुर राई संयुक्त रुपमा ५५ औं स्थानमा छन्। ५५औं स्थानमा सिंगापुर, बंगलादेश र कतारका खेलाडी पनि छन्। यस्तै टंक कार्की संयुक्त रुपमा ६२औं स्थानमा छन्। ६२औं स्थानमा युएई, ब्रुनाइ र बंगलादेशका खेलाडी पनि खेलाडी छन्। यस्तै अजित विके ७४ औं स्थानमा छन् भने पृथ्वी मल्ल संयुक्त रुपमा ७८औं स्थानमा छन्। ७८औं स्थानमा उज्वेकिस्तानका खेलाडी पनि छन्। यो स्पर्धामा ८७ खेलाडीले भाग लिएका छन्।
गल्फको पुरुष टिम इभेन्टमा नेपाल १७औं स्थानमा छ। यो स्पर्धामा २० टिमले भाग लिएका छन्। गल्फ थप २ दिन चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।