जाकर्ता (इन्डोनेसिया)- एसियाली खेलकुद (एसियाड) मा नेपालका लागि सबैभन्दा सफल खेल हो, तेक्वान्दो। किनभने नेपालले एसियाडमा २३ पदक जित्दा तेक्वान्दोबाट मात्र १४ पदक आएको छ।
सन् १९८६ को सोल एसियाडमा नेपालले ४ कांस्य जितेको थियो। त्यसपछि नेपालले १९९४ को हिरोसिमा एसियाडमा तेक्वान्दोबाट १ कांस्य जित्यो। सन् १९९८ मा त नेपालकी सविता राजभण्डारीले रजत पदक हात पारिन्। यो पदक नेपालले एसियाडमा जितेको सबैभन्दा ठूलो पदक हो। बैंककमा भएको यो एसियाडमा तेक्वान्दोमा नेपालले थप २ कांस्य जितेको थियो।
२००२ मा दक्षिण कोरियाको बुसानमा भएको एसियाडमा नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट, रेनुका मगर र रितुजिमी राईले नेपाललाई कास्य दिलाएका थिए। दीपकले २००६ मा दोहा एसियाड पनि कांस्य जितेर लगातार २ पदक जित्ने कीर्तिमान बनाएका थिए। यो एसियाडमा मनिता शाही र आयशा शाक्यले पनि तेक्वान्दोबाट कांस्य जितेका थिए।
नेपालले लगातार ४ एसियाडमा पदक दिलाउन सफल तेक्वान्दो पछिल्लो १२ वर्ष भन्ने पदकविहीन बनेको छ। इन्डोनेसियाको जार्कतामा जारी १८औं एसियाड पनि तेक्वान्दोको चुनौती समाप्त भएपछि नेपालले तेक्वान्दोबाट लगातार ३ एसियाडमा पदक जित्न सकेन।
जाकर्ता कन्भेन्सन हलमा बिहीबार भएको खेलामा ६८ केजी मुनि तौल समूहमा ज्ञानेन्द्र हमाल र ४९ केजी तौल समूहमा अस्मिता खड्का पराजित भएका छन्। ज्ञानेन्द्र अन्तिम १६ को खेलमा रोजाली रोजामीसँग ३०-२ अंकले पराजित भए। त्यसअघि उनले अन्तिम ३२ को खेलमा वाङचुक जिम्गेलाई ३९-१७ ले पराजित गरेर अन्तिम १६ मा स्थान पक्का गरेका थिए। अस्मितालाई अन्तिम १६ को खेलमा इरानकी कियानीचादेश नहिदले ४३-४ अंकले पराजित गरिन्।

नेपालका तेक्वान्दोका प्रशिक्षक तथा एसियाडका २ कास्य विजेता दीपक विष्ट राज्यको लगानी नभएसम्म तेक्वान्दोबाट धेरै आसा गर्न निमल्ने तर्क गर्छन्। 'पदक जित्ने खेललाई प्राथमिकतामा राखेर त्यही अनुसारको लगानी र तयारी गरे मात्र अन्य देशसँग प्रतिस्पर्धा गर्न सकिन्छ,' विष्टले भने,'प्रत्येक ४ वर्षमा एसियाड हुन्छ। तर हामी ३ वर्ष ८ महिना सुत्छौं। अनि कसरी पदक जित्न सकिन्छ।'
उनले अन्य देशले तेक्वान्दोमा धेरै लगानी गरेको बताउँदै उनले अघि भने,'हामी १२ वर्षअघि जस्तो अवस्थामा थियौं अहिले पनि त्यस्तै छौ। अन्य देशले पदकका लागि धेरै लगानी गरेर आफुलाई बलियो बनाइसकेका छन्। हामीले एसियन गेम्स खेल्दा थेरै राष्ट्रबीच मात्र प्रतिस्पर्धा चल्थो। अहिले सबै देशले तेक्वान्दोलाई प्राथमिकतामा राखेर लगानी गरेका छन्।'

उनले जारी एसियाडमा नेपाली खेलाडीले राम्रो खेलेको पनि बताए। 'हामीले जुन-जुन खेलाडीसँग प्रतिस्पर्धा गर्यौं, उनीहरुले पदक जितेका छन्। हामीले आफ्नो स्तरको खेल खेल्न सक्यौं,' उनले भने,'अहिले दक्षिण एसियाका राष्ट्रले तेक्वान्दोमा राम्रो खेल्न सकेका छैनन्। ओलम्पिकमा पदक जितेको अफगानिस्तान र सागमा उत्कृष्ट खेलेको भारत पनि पदकबिहीन बन्नु परेको अवस्था छ।'
उनले नेपाली जनताले एसियाडमा तेक्वान्दोबाट पदकको आसा गर्नु स्वभाविक रहेको बताउँदै भने,'हामीले यसपटक पदक जित्न सकेनौं। सबैलाई सरी भन्न चाहान्छु। अर्को पटक हामी राम्रो खेल्न कोशिस गर्छौं।'


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।