जाकर्ता (इन्डोनेसिया) - इन्डोनेसियाको राजधानी जाकर्तामा भइरहेको १८औं एसियाली खेलकुदको पाँचौ दिन जारी रहदा नेपालको ४ खेलमा चुनौती समाप्त भएको छ। बिहीबार उसु र टेनिसमा नेपालको चुनौती समाप्त भएको हो।
टेनिसको महिला डबल्समा बुधबार प्रतिस्पर्धा गरेका नेपालका मायांका राणा र महिका राणा क्वार्टरफाइनलमा पराजित भएका हुन्। राणा दिदीबिहनीको जोडीलाई जापानका मोयुका उचिजिमा र इरिका हायासीले ६-० र ६-० को सिधा सेटमा पराजित गरेका हुन्। ६ खेलाडी सहभागी टेनिसमा सबैले कमजोर प्रदर्शन गरे।
उसुमा अन्तिम दिन छ्वानछुवानमा नेपालकी सुस्मिता तामाङले प्रतिस्पर्धा गरेकी थिइन्। ९ खेलाडी सहभागी यो स्पर्धामा सुस्मिता सातौं भइन्। यो स्पर्धामा चीनले स्वर्ण, मकाउले रजत र भियतनामले कास्य जितेका छन्। योसँगै उसुमा पनि नेपालको चुनौती समाप्त भएको छ। उसुमा नेपालका १० खेलाडीले भाग लिएका थिए। यसअघि मंगलबार बाइ पाएर क्वार्टरफाइनलमा पुगेकी लुमन्ती श्रेष्ठ थाइल्यान्डकी खेलाडीसँग पराजित हुँदा पदक जित्नबाट चुकेकी थिइन्।
अहिलेसम्म नेपालको कुस्ती, उसु, लनटेनिस र सुटिङमा चुनौती समाप्त भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।