जाकर्ता (इन्डोनेसिया) - १८औं एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोको ६२ केजी मुनी तौल समूहको अन्तिम १६ को खेलमा नेपालका वीरबहादुर महरा पराजित भए। उनलाई कागजकिस्तानका बाटीयारुली काजएबेकले ३०-१९ अंकले हराए।
त्यसअघि उनले अन्तिम ३२ को खेलमा अफगानिस्तानका बाकासी अहमेदलाई २४-१३ ले पराजित गरेर अन्तिम १६ मा स्थान पक्का गरेका थिए।
अर्का खेलाडी भूपेन श्रेष्ठ पनि पहिलो खेलमै पराजित भए। उनलाई अफगानिस्तानका रमेश अहमेदले २७-७ ले पाखा लगाए।
योसँगै तेक्वान्दोमा ८ खेलाडीको चुनौती समाप्त भएको छ। तेक्वान्दो अन्तिम दिन बिहीबार ४९ मुनी अस्मिता खड्का र ६८ केजी मुनीको तौल समूहमा ज्ञानेन्द्र हमालले प्रतिस्पर्धा गर्दैछन्।
यता पौडीमा पनि नेपालको खराब प्रदर्शन जारी छ।
पौडीमा गौरिका सिंह २ सय मिटर फ्रिस्टायलमा हिट चरणबाटै बाहिरिइन्। आफ्नो हिटमा सातौं भएकी उनी समग्रमा १९औं भइन्। उनले निर्धारित दूरी २ मिनेट १२.५३ सेकेन्डमा पार गरेकी थिइन्। यो स्पर्धमा २४ खेलाडीले भाग लिएका थिए।
यता सय मिटर ब्रेस्टस्टोकमा प्रतिस्पर्धा गरेका शुभम् श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए। उनी आफ्नो हिटमा ८ खेलाडी मध्ये तेस्रो भएका थिए। १ मिनेट ११.३७ सेकेन्डमा निर्धारित दूरी पार गरेका उनी सगम्रमा २७औं स्थानमा रहे। यो स्पर्धामा ३२ खेलाडीले भाग लिएका थिए।
अब पौडीमा शिरिश गुरुङले सय मिटर फिस्टायलमा बिहीबार प्रतिस्पर्धा गर्नेछन्। यस्तै टिशा शाक्यले ५० मिटर ब्रेस्टस्टोकमा प्रतिस्पर्धा गर्नेछिन्।
पुरुष भलिबलको पहिलो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाललाई चाइनिज ताइपेहले ३-० को सोझो सेटमा पराजित गरेको हो। चाइनिज ताइपेहले नेपालमाथि २५-२३, २५-१९ र २५-१५ ले सहज रुपमा हरायो।
समूह 'डी'मा रहेको नेपालको समूहमा दक्षिण कोरिया र चाइनिज ताइपेह छन्। अब नेपालले कोरियासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।