जाकर्ता- १८ औं एसियाली खेलकुदको चौथो दिन पनि नेपालका लागि निराशाजनक रह्यो। चौथो दिन तेक्वान्दीकी ज्ञानी चुनारा र उसुकी लुमन्ती श्रेष्ठ क्वार्टरफाइनलमा पराजित हुँदा पदक जित्नबाट चुके। उनीहरुले जित हात पारेको भए कम्तिमा कास्य पदक पक्का थियो। यस्तै भारोत्तोलनमा सञ्जु चौधरीले राष्ट्रिय कीर्तिमान बनाइन्।
भारोत्तोलन
भारोत्तोलनमा सञ्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले महिलाको ५३ केजी तौल समूहतर्फ स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन कीर्तिमान बनाएकी हुन् । सन्जुले जकार्ताको जेआई एक्स्पो हलमा मंगलबार स्यान्चमा ७२ र क्लिन एन्ड जर्कमा ८६ केजी भार बहन गर्दै समग्रमा १५८ केजी तौल उचालिन् । तीन महिना अघि उनले काठमाडौंमा अन्तर क्लब प्रतियोगितामा स्यान्चमा ७१ र क्लिन एन्ड जर्कमा ८५ केजी तौल उचाल्दै १५६ केजी उचालेर किर्तिमान बनाएकी थिइन । यस पटक उनले आफ्नो रेकर्ड सुधार गरेकी हुन् ।
तेक्वान्दो
तेक्वान्दोको तेश्रो दिन पनि पदकविहीन बनेको छ। तेश्रो दिन नेपालबाट १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुदाँ दुई खेलाडी पहिलो चरणमै रोकिए। महिला ५७ केजीमुनि ज्ञानी चुनारा क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससंग २०–० को फराकिलो अन्तरले पराजित भइन् । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरेकी थिइन् ।
महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले निराश पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित दर्ता गरे।
बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्नेछन् ।
उसु
महिला सान्सौंको ६० केजी मुनि तौल समूहमा नेपालकी लुमन्ती श्रेष्ठ थाइल्यान्डकी सुचया बुआलुङसँग क्वाटरफाइनलको पहिलो राउन्डमै पराजित भइन् । लुमन्ती बाइ पाएर सीधै क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन् । उनले खेल जितेको भए पदक पक्का हुने थियो।
बास्केटबलमा दुवै खेलमा पराजित
पुरुष थ्री अन थ्री बास्केटबलमा नेपालले दोहोरो पराजय भोगेको छ । समूह ‘सी’ को लिग खेलमा नेपालले जापानसँग २२–११ र कतारसँग २१–८ ले पराजित भयो । अर्कोको खेलमा कतारले नेपाललाई २१–८ ले हरायो । नेपालको समूहमा जापान, जोर्डन, माल्दिभ्स र कतार रहेका छन् । बास्केटलको महिला थ्री अन थ्री बास्केटबमा नेपालको महिला टिमले चाइनीज ताइपेको सामना गर्दै छ।
पौडी
एसियाली खेलकुदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औं स्थान हात पारेका छन्। ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६.३३ सेकेन्डमा पूरा गरे । ७ खेलाडीले भाग लिएको दोश्रो हिटमा भने शिरीष तेश्रो स्थानमा रहे ।
बुधबार गौरिक सिंहले २ सय मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन्।
कबड्डी
पुरुष कबड्डीमा नेपालले लगातार दोश्रो हार व्यहोरेको छ । समूह ‘बी’ को लिग खेलमा नेपाल जापानसंग २८–३१ ले पराजित भयो । पहिलो खेलमा नेपाल आयोजक इन्डोसियासंग चुकेको थियो । मंगलबार नेपालले दुई खेल खेल्नेछ । पहिलो खेलमा नेपालले इरानसंग खेल्नेछ भने दोश्रो खेलमा मलेसियाको सामना गर्नेछ ।
प्याराग्लाइडिङ
पुरुष व्यक्तिगत स्पर्धामा नेपालका विजय गौतम ५ राउन्डसम्म १४ औं स्थानमा छन् भने सुशील गुरुङ २५ औं स्थानमा छन् । यो स्पर्धामा ३३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । गौतम ३ राउन्डसम्म दोस्रो स्थानमा थिए ।
यस्तै एक्युरेसीको पुरुष टिम इभेन्ट्समा ५ राउन्डसम्मको खेल सकिँदा नेपाल आठौं स्थानमा छ । यो स्पर्धामा १५ राष्ट्रले भाग लिएका छन् । एक्युरेसीको महिला टिम इभेन्ट्समा नेपाल सातौं स्थानमा छ ।
प्याराग्लाइडिङको एक्युरेसीको अन्तिम नतिजा बुधबार आउनेछ ।
शुक्रबारबाट क्रस कन्ट्री इभेन्ट सुरु हुनेछ । नेपालले क्रस क्रन्ट्रीमा पदकको आसा गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।