टेनिस
१८ औं एसियाली खेलकुदअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गर्यो। पालेम्वाङमा भएको खेलमा मायांका र माहिकाको जोडीले माल्दिभ्सका जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे। प्रिक्वाटरफाइनलमा उक्त जोडीले जापानसँग मंगलबार खेल्ने छन्। पुरुष डबल्समा भने नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६–१ र ६–१ को सिधा सेटमा हारे।
ब्याडिन्टन
ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल सोमबार क्वाटरफाइनलमा पराजित भएको छ। नेपाल चाइनिज ताइपेईंसँग ३–० ले पराजित भयो। पहिलो सिंगल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोश्रोमा नेपालका दीपेश धामी २१–५ र २१–१४ तथा तेश्रोमा नेपालका नवीन श्रेष्ठ २१–१० र २१–११ को सोझो सेटमा पराजित भए।
टिम इभेन्टमा भने नेपालको चुनौती समाप्त भइसकेको छ। ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु अगष्ट २४ तारिखदेखि सुरु हुनेछ।
पौडी
एसियाली खेलकुदको पौडीमा सोमबार दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए। गौरिका सिंह र टीसा शाक्य दुवैले १ सय मिटर फ्रिस्टायलमा २७ खेलाडी सहभागी हुँदा स्पर्धामा गौरिका १८ औं र टीसा २२ औं स्थानमा रहे। गौरिकाले निर्धारित दूरी तय गर्न १ मिनेट ००.८२ सेकेन्ड समय खर्चिन्। टीसाले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी तय गरिन्।
मंगलबार नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।
तेक्वान्दो
तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन्। सागर भियतनामका खेलाडीसंग २५–५ अंकले पराजित भए। त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए। महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसंग २३–१० तथा ६७ केजीमुनि नेपालकी संगीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसंग २०–१७ ले पछि परे।
मंगलबार ३ खेलाडीले नेपालको चुनौती पस्कने छन् । महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमुनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीममाथि अनोज पुजारीले खेल्नेछन् ।
उसु
बाह्र खेलाडी सहभागी महिलाको नान् ताउमा नेपालकी निमा घर्ती मगरले ११ औं स्थान हासिल गरेकी छन् । निमाले ९.१७ अंक जोडिन् । पुरुष छान् छ्वानमा नेपालका युवराज थापा मगरले ८.२२ अंकसाथ २१ औं स्थान हात पारे । २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सान्सौंतर्फ पुरुष ५६ केजीमा पदम ठकुल्ला लाओसका खेलाडीसंग पराजित भए ।
सुटिङ
सुटिङमा नेपालको चुनौती समाप्त भएको छ। नेपालबाट एक पुरुष र दुई महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुषमा सुशे चौधरी तथा महिलामा कल्पना परियार र सुस्मिता नेपालले व्यक्तिगत १० मिटर एयर राइफलमा भाग लिएका थिए। उक्त स्पर्धा ६ सय ५४ पूर्णाङ्कको थियो। सुशेले ५ सय ८१ को प्रदर्शन गरे। ४४ जना सहभागीमा सुशे ४२ औं स्थानमा रहे। त्यस्तै कल्पनाले ५९४.८ र सुस्मिताले ५८७.१ अंक जोडे। ४८ खेलाडी सहभागी यो स्पर्धामा कल्पनाले ४५ औं र सुस्मिताले ४६ औं स्थान हात पारे। दुई राष्ट्रका खेलाडी अनुपस्थित रहे।
प्याराग्लाइडिङ
व्यक्तिगत एक्युरेसीको पहिलो २ राउन्डको खेल सकिदा नेपालका विजय गौतम तेस्रो स्थानमा रहन सफल भएका छन्। पहिलो स्थानमा इन्डोनेसियाका मेगावान्तो जाफ्रो छन्। यस्तै दोस्रो स्थानमा थाइल्यान्डका विटेहाम जिरासाक छन्। यो प्रतिस्पर्धाको तेस्रो राउन्ड केहि खेलाडीले सकेपनि नेपालका गौतमले खेल्न बाँकी छ। ६ राउन्डसम्म चल्ने यो प्रतिस्पर्धा बुधबार सकिने नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले बताए। यो इभेन्टमा २९ खेलाडीले भाग लिएका छन्। अर्का नेपाली खेलाडी सुशील गुरुङ्ग भने २५औं स्थानमा छन्।
महिला टिम इभेन्टको २ चरण सकिदा नेपाल चौथो स्थान र पुरुष टिम इभेन्टको २ चरण सकिदा नेपाल आठौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।