जाकर्ता- १८औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको व्यक्तिगत एक्युरेसीको पहिलो २ राउन्डको खेल सकिदा नेपालका विजय गौतम तेस्रो स्थानमा रहन सफल भएका छन्।
पहिलो स्थानमा इन्डोनेसियाका मेगावान्तो जाफ्रो छन्। यस्तै दोस्रो स्थानमा थाइल्यान्डका विटेहाम जिरासाक छन्। यो प्रतिस्पर्धाको तेस्रो राउन्ड केहि खेलाडीले सकेपनि नेपालका गौतमले खेल्न बाँकी छ। ६ राउन्डसम्म चल्ने यो प्रतिस्पर्धा बुधबार सकिने नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले बताए। यो इभेन्टमा २९ खेलाडीले भाग लिएका छन्। अर्का नेपाली खेलाडी सुशील गुरुङ्ग भने २५औं स्थानमा छन्।

यता एक्युरेसीको महिला टिम इभेन्टको २ चरण सकिदा नेपाल चौथो स्थानमा छ। इन्डोनेसिया पहिलो स्थानमा छ भने दक्षिण कोरिया दोस्रो र थाइल्यान्ड तेस्रो स्थानमा छन्। यो इभेन्टमा ९ राष्ट्रले सहभागिता जनाएका छन्।
पुरुष टिम इभेन्टको २ चरण सकिदा नेपाल आठौं स्थानमा छ। यो स्पर्धा पनि इन्डोनेसिया पहिलो स्थानमा छ भने थाइल्यान्ड दोस्रो र चीन तेस्रो स्थानमा छ। यो इभेन्टमा १५ देशबीच प्रतिस्पर्धा भइरहेको छ।
नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा पनि प्रतिस्पर्धा गर्न बाँकी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।