काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभामा शनिबार गर्ने भनिएको सम्बोधनलाई त्यहाँका केही सांसदहरुले बहिस्कार गर्ने भएका छन्। राष्ट्रिय जनता पार्टीका एकजना सांसद मनिष सुमनले आफू लगायतका केही सांसदले प्रधानमन्त्रीको सम्बोधनलाई बहिस्कार गर्न लागेको जानकारी दिए।
'पार्टीको संस्थागत निर्णय भइसकेको छैन', सुमनले भने, 'मैले भने बहिस्कार गर्ने निर्णय गरेको छु। मसँगै अलका झा, परमेश्वर साह लगायत पनि बहिस्कार गर्दै हुनुहुन्छ।'
सुमनले वन पर्यटन राज्यमन्त्री सुरेश मण्डलले पनि प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कार गर्ने दाबी गरे।
'मुख्यमन्त्रीले प्रदेशसभाको नियमावली विपरित प्रधानमन्त्रीलाई बोलाउने काम गर्नुभयो', सुमनले बहिस्कार गर्नुको कारण भने, 'प्रधानमन्त्रीले पनि संसदीय नियमावली विपरित प्रदेशसभामा सम्बोधन गर्ने काम गर्नुहुँदैछ।'
सुमनले प्रधानमन्त्रीको अहिलेसम्मको व्यवहार मधेस विरोधी देखिएकाले पनि बहिस्कार गर्नुपरेको बताए। 'सधैं मधेस विरोधी अभिव्यक्ति दिने प्रधानमन्त्रीको सम्बोधनको साक्षी बस्न हाम्रो मनले मानेन', उनले भने, 'त्यसैले हामीले बहिस्कार गर्नुपर्यो।'
सुमनले मधेसका प्रति विगतमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले क्षमा माग्नुपर्ने बताए। 'सम्बोधन नै गर्दै हुनुहुन्छ भने क्षमा माग्ने सम्बोधन गर्नुहोस्', सुमनले प्रधानमन्त्रीलाई सुझाब दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।