काठमाडौं– वरिष्ठ पत्रकार भैरव रिसालले आफ्नो पेशाले नमीठो कुरा गर्नु परे पनि सधैं माया पाएको बताएका छन्।
भरतराज पोखरेलसँगको सहकार्यमा लेखिएको पुस्तक 'नेपालका मन्त्री र सांसदहरु' लोकार्पण कार्यक्रममा बोल्दै रिसालले जीवनमा ठूल्ठूला विद्वानहरुलाई साथीको रुपमा कमाएको बताए। 'साँचो कुरा गरे माया पाइँदोरहेछ', उनले भने, 'गाली नै भए पनि माया पाइँदोरहेछ।'
'अहिले पछिल्लो पुस्ता खराब भन्ने प्रचलन आएको छ। तर मलाई सबैले माया गर्छन्। घरमा पनि सबैले माया गर्छन्', रिसालले भने, 'हामीले के संस्कार दियौं, हामीले बच्चालाई कसरी हुर्कायौं भन्नेमा सबैले गम्भीर भएर सोच्न जरुरी छ।'
आफ्नो बानी नै नमीठो कुरा गर्नेमा लागेको बताए। 'राधाकृष्ण मैनालीले किताब लेख्नुभयो– नलेखिएको इतिहास', उनले स्मरण गरे, 'प्रमुख अथिति मलाई राखिएको थियो। मलाई प्रमुख अथितिका रुपमा लटपटिने कि मलाई मनमा लागेको कुरा भन्ने भयो। मैले भनिदिएँ– राधाकृष्णजी, जिउँमा मात्रै मोटो भन्ने ठानेको थिएँ बुद्धिमा पनि मोटो हुनुहुँदोरहेछ।'
उनले थपे– 'बिहानै श्रीमतिले आफूले बोलाएको पाहुनालाई गाली नगर्न भनेकी छिन्।'
रिसालले आफूले पत्रकारिताका क्रममा संगालेको अनुभवलाई समेत स्मरण गरे। आफूले निम्ता गरेका, कार्यक्रममा आएका र आउन नपाएका धेरै पात्रहरुलाई उनले सम्झिने प्रयास गरेका थिए। रिसालले आफ्ना जीवन अनुभव र मान्यतालाई पनि प्रस्तुत गरेका थिए। 'म भेन्टिलेटरमा राख्ने कामको विपक्षमा छु', उनले कारण खोल्दै भने, 'मान्छेले स्वभाविक रुपमा मर्न पाउनुपर्छ। मैले स्वभाविक रुपमा मर्न पाउनु मेरो मौलिक अधिकार हो।'
पुस्तकमा २००७ सालयताको मन्त्री र सांसदहरुका साथै प्रदेशका मन्त्रिमण्डल र सांसदहरु समेटिएका छन्। त्यस्तै, चर्चित शाही घोषणाहरु र हालसम्मका क्याबिनेट सेक्रेटरी/मुख्यसचिवहरु समेत संकलित छन्।
कार्यक्रममा बोल्दै लेखक कृष्ण खनालले यतिका मन्त्रीहरु जन्माएर के भयो त भनेर प्रश्न गरे। 'नामहरु हेरिसकेपछि नेपालमा के भएछ त यतिका मन्त्रीहरु जन्माएर भन्ने लाग्दोरहेछ', खनालले सोधे, 'मन्त्री बनेर काठमाडौंमा घर घडेरी नजोडेका कति जना होलान्? हरेक पटक मन्त्रिमण्डल गठन हुनु भनेको काठमाडौंमा नयाँ घरघडेरी जोडिनु हो, केही अपवाद बाहेक।'
अर्का वक्ता तथा पूर्व अर्थमन्त्री देवेन्द्रराज पाण्डेले पुस्तक नेपाली समाज र राजनीतिकको चित्र भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।