काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको बन्दको प्रभाव देशभर सामान्य देखिएको छ। उपत्यकाका तीन वटौ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरसँगै देशभर अन्य दिनजस्तै सवारी सञ्चालनमा रहेका छन्। बजार तथा पसलहरुसमेत खुल्ला रहेका छन्।
बन्दको कारण केही विद्यालय तथा क्याम्पसहरुको बिहानी सत्रको कक्षामा भने प्रभाव परेको बताइएको छ। काठमाडौंबाट देशका विभिन्न स्थानका लागि छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन पनि सञ्चालनमा रहेको महानगरीय प्रहरी महाशाखाले जनाएको छ।
उता बन्दको आह्वान भएकै दिनमा देशका विभिन्न स्थानमा बम तथा शंकाष्पद वस्तु फेला पारिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले भक्तपुरको लोकन्थली र सूर्यविनायकमा भेटिएको प्रेसर कुकर बमलाई निष्क्रिय पारेको छ। बाजुराको बडिमालिका नगरपालिकाको मुलगेट, काठमाडौंको सतुंगल तथा रौतहटको चन्द्रपुर–५ स्थित पूर्वपश्चिम राजमार्गमा भेटिएका शंकास्पद वस्तुलाई पनि डिस्पोज गर्ने प्रयास भइरहेको छ।
बन्दका दिनमा फेला पारिएकोले विभिन्न स्थानमा भेटिएका बम तथा शंकाष्पद वस्तु विप्लव कार्यकर्ताले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।