काठमाडौं– चुलिँदो व्यापार घाटा घटाउने गरी नेपाल–भारत वाणिज्य सन्धि संशोधन गर्न भारत सकारात्मक भएको छ। व्यापार घाटा न्यूनीकरण गर्ने पक्षमा सन्धी संशोधन तथा त्यसअनुसारका संयन्त्र निर्माण गर्नुपर्ने नेपालको प्रस्तावप्रति भारतीय पक्ष सकारात्मक भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
गत बुधबार र बिहीबार नेपाल–भारत वाणिज्य सन्धी पुनरावलोकन गर्ने पूर्वतयारीस्वरुप भारतमा भएको बैठकमा नेपालले व्यापार घाटा न्यूनीकरणका लागि विभिन्न प्रस्ताव राखेको मन्त्रालयका उपसचिव तर्कराज भट्टले बताए।
सन्धी पुनरावलोकनार्थ दुई देशका सरकारी अधिकारीबीच दशकपछि भएको यो पहिलो औपचारिक बैठक हो। यसअघि सन् २००९ मा सन्धिमा पुनरावलोकन भएको थियो।
बैठकमा नेपालले चुलिँदो व्यापार घाटा न्यूनीकरण गर्न सम्यन्त्र निर्माण, नेपालका कृषि उत्पादनको निकासीमा सहजता, उत्पत्तिको प्रमाणपत्र, व्यापारजन्य पूर्वाधार विकास, लगानी विस्तार तथा वृद्धि लगायतका प्रस्ताव राखेको थियो। ‘समग्रमा नेपालले व्यापार घाटा न्यूनीकरण हुनेगरी सन्धि संशोधन गर्ने विषयलाई जोड दिएको छ,’ मन्त्रालयका उपसचिव भट्टले भने।
सन्धि पुनरावलोकनका लागि नेपालले राखेको प्रस्तावमा भारत सकारात्मक देखिएको मन्त्रालयले बताएको छ।
यससँगै सन्धि पुनरावलोकनका लागि आगामी बैठक नेपालमा गर्ने सहमतिसमेत भएको छ। मन्त्रालयका अनुसार यसको आगामी बैठक अक्टोबरमा नेपालमा गर्ने सहमति जुटेको छ।
गत १६ बैसाखमा नेपालमा सम्पन्न नेपाल–भारतअन्तरसरकारी समिति (आइजिसी)को बैठकले वणिज्य सन्धि पुनरावलोकन गर्ने सहमति गरेको थियो। त्यसै सहमति अनुरुपको पहिलो सह–सचिवस्तरीय बैठक गत बुधवार र बिहीबार भारतको राजधानी नयाँ दिल्लीमा भएको हो। उक्त बैठकका लागि मन्त्रालयका सह–सचिव रविशंकर सैंजुको नेतृत्वमा आठ सदस्यीय टोली दिल्ली गएको थियो।
आगामी ३ महिनामा सन्धी पुनरावलोकन सकिने विश्वास मन्त्रालयको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।