काठमाडौं– पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले पर्यटकको उद्धारको नाममा भएको ‘फेक रेस्क्यू’मा संलग्नहरुमाथिको छानविन अन्तिम चरणमा पुगेकाले कसैले उन्मुक्ति नपाउने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले ‘फेक रेस्क्यू’मा संलग्न ८ वटा ट्राभल ट्रेकिङ उद्धार कम्पनी, ४ वटा अस्पतालहरु, ३ वटा हेलिकप्टर कम्पनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी गराए।
मन्त्रालयबाट गठित छानविन समितिले प्रतिवेदन बुझाइसकेको र त्यसको कार्यान्वयनको चरणमा मन्त्रालय रहेको मन्त्री अधिकारीले जानकारी दिए।
ती कम्पनीहरुलाई राजस्व चुहावट अन्तर्गत पनि कारबाहीका लागि सिफारिस गरिएको मन्त्री अधिकारीले बताए। विदेशी मुद्राको कारोबार गर्न अनुमति नलिएको देखिएका ५ कम्पनीलाई कारबाही गर्न नेपाल राष्ट्र बैंकलाई पत्र लेखिएको अधिकारीले जानकारी दिए।
‘फेक रेस्क्यू’मा संलग्न अन्य व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालयमा पत्र लेखिएको भन्दै उनले कसैलाई पनि सरकारले उन्मुक्ति नदिने बताए।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण, निजगढ, भैहरवा, गौतमबुद्ध तथा पोखरास्थित विमानस्थल निर्माणको प्रगति, सम्पदा पुनःनिर्माण लगायतबारे सदनलाई जानकारी गराए। मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण गरी २४ सै घण्टा सञ्चालनमा ल्याउन आवश्यक प्रबन्ध मिलाउन लागेको जानकारी गराए।
वर्षातपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण सुरु गरिने र सो सम्पन्न भए लगत्तै सन् २०१९ को फेबु्रअरीको दोश्रो हप्तादेखि दैनिक ८ घण्टा उडान अवतरण बन्द गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरु गरिने उनको भनाइ थियो। २०१९ जुनसम्म धावनमार्ग निर्माणको काम सम्पन्न गर्ने योजना मन्त्रालयले अघि सारेको पनि उनले जानकारी दिए।
मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमको उडान र सेवाको प्रभावकारीता बढ्दै गएको दाबीसमेत गरे। वाइडबडी जहाज खरिद प्रक्रियाका बारेमा सदन र सदनबाहिर पनि विभिन्न प्रश्न उठेको भन्दै उनले त्यसबारे मन्त्रालयले शुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताए।
उनका अनुसार भुकम्पबाट क्षतिग्रस्त सम्पदामध्ये पाटनको कृष्णमन्दिर लगायत १ सय ८५ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मुल्यांकन स्वीकृत भइसकेको र दुई हप्ताभित्र मोडालिटी पनि तय हुने उनले बताए। मन्त्री अधिकारीले मुआब्जा लगायत पूर्व तयारीका काम एक महिनाभित्र सुरु हुने पनि सदनसमक्ष जानकारी गराए।
पोखरा विमानस्थलका लागि भने आवश्यक भएमात्रै बाँकि जग्गा अधिग्रहण गरिने उनले प्रष्ट पारे। मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि संसदबाट पास भइसकेपछि विदेशी र स्वदेशी यात्रुबीच विमा रकममा विभेद नहुने स्पष्ट पारे।
सांसद दिलेन्द्र प्रसाद बडूले वायु उडानहरुले विमा वापतको रकम स्वदेशीलाई ५० हजार रुपैयाँ मात्रै दिने र विदेशीलाई भने १ लाख ५० हजार रुपैयाँ दिने व्यवस्थाबारे मन्त्रीसँग जिज्ञासा राखेका थिए।
मन्त्री अधिकारीले हायात रिजेन्सीको शेयर ट्रान्सफर नभएको र शेयर घटेको बारेमा मन्त्रालयले खोजिगरिरहेको जानकारी गराए।
मन्त्री अधिकारीले वाइडबडी विमान खरिदमा आफूमाथि अतिरञ्जिना फैलाइएको आरोप लगाएका छन्। उनले सञ्चारमाध्यममा सबै कुरा गर्दागर्दै केही अंशमात्र राखेर आफूले बोलेको कुरालाई अतिरञ्जित गरिएको टिप्पणी गरेका हुन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले वाइडबडी खरिद प्रकरणमा कुनै पनि अनियमितता नभएको जिकिर गरे। विमान खरिदका बारेमा यसअघि पनि संसदलाई जानकारी गराएको र अहिले पनि जानकारी गराएको भन्दै अधिकारीले आफूले पारदर्शी रुपमा काम गर्ने टिप्पणी गरे।
विमान खरिदमा कमिसन लिएको भनि लगाएको आरोप गलत भएको भन्दै उनले सवैकुरा सार्वजनिक भएकाले यसमा विश्वास गर्न आग्रह गरे। आफू मन्त्री भएर आउनुअघि उक्त विमान खरिदको प्रक्रिया सुरु भएको भन्दै उनले कमिसन लिने भनि गरेको प्रचार गलत भएको स्पष्ट पारे।
यसअघि सांसद रामबहादुर विष्टले वाइडबडी जहाज खरिदमा १० प्रतिशत कमिशनको कुरा चलेको भन्दै यसबारे स्पष्ट पार्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।