काठमाडौं– ‘जंगलभित्र पनि नाटक?’
सुन्दा अनौठो लाग्न सक्छ। इलामको चुलाचुली गाउँपालिकास्थित मिलनपोखरी नजिकको जंगलको सानो हिस्सा महोत्सवका लागि सजिएको छ।
आगामी १० र ११ गते ८ वटा नाटक मञ्चन हुनेछन् त्यहाँ। जसमध्ये कुनै नाटकले हात्तीको कथा भन्छ, कुनैले खरायो कथा त कुनैले जंगलको।
‘चुलाचुली पाठशाला नाट्य उत्सव’का लागि पूर्व लम्किरहेका रंगकर्मी अनिल सुब्बाको यो निकै अघिदेखिको सपना हो।
एकदिन एउटा कथा सुनेछन् अनिलले। ‘भालुले मानिसले बनाएको बाटो पार गरेछ। तर भालुले हैन मान्छेले भालुको बाटो ओगटेका हो,’ कथाको यो सन्देशले उनको मनमा गाँठो पारिरहेको थियो।
उनी चिडियाखाना जान्थे, कैदमा थुनिएका जनावर देखेर मन खिन्न हुन्थ्यो। ‘एकपटक एउटा नाटक गर्दा म १५ दिन बाहिर निस्किनँ। त्यतिबेला मलाई कति गाह्रो भयो, जबकि जीवनभर कैद भइरहेका जनावरलाई कस्तो हुँदो हो,’ उनी भन्छन्।
अघिल्लो वर्ष हलभित्र पहिलो महोत्सव गरेको चुलाचुलीलाई अनिलले जंगल लैजाने योजना बुने। समूहका साथीहरूलाई सुनाए। गाउँपालिकाले बजेट दियो, बाँकी व्यक्तिगत सहयोग जुट्यो। ‘यही प्रयासमा अब नाटकमा जुटिरहेका छौं,’ अनिल भन्छन्।
‘मान्छे मात्र आदिवासी हैन’
अनिलले निर्देशन गरेको एउटा नाटक छ ‘यो मेरो कथा नहुन सक्छ।’
उसोभए कथा कसको त?
‘जंगलको, हात्तीको, प्रकृतिको। जसलाई मान्छेले आफ्नो कथा मानेको छैन,’ अनिल भन्छन्, ‘हामीले मान्छेको कथा भन्यौं, दुःख भन्यौं। तर मान्छे भएर बाँच्दै गर्दा बचाउनु पर्ने कुरा पनि हुन्छन् होला। यसपालि मान्छेको कथा छाडिदियौं।’
उक्त नाटक ११ गते महोत्सवमा मञ्चन हुनेछ।
चुलाचुलीले जुन ठाउँमा महोत्सव गर्दैछ, त्यो हात्ती हिँड्ने क्षेत्र हो। उनका अनुसार अहिले मानिसले ओगटेको वस्ती पनि हात्तीको बाटो हो।
त्यो ठाउँमा हात्ती आतंक हुन्छ। अनिल भन्छन्, ‘तर आतंक किन हुन्छ भन्नेतिर गएनौं हामी।’
उनका बुबाले सुनाएअनुसार त्यहाँ जंगल फाँडेर बस्ती बसेको थियो। पहिचानको मुद्दा आदिवासीहरूले उठाइरहँदा उनलाई लाग्छ, ‘जनावरको चाहिँ पहिचान छैन र? उनीहरूले सुरक्षित भएर बाँच्न पाउनु पर्दैन र?’
उनीसँग अर्को प्रश्न पनि छ, ‘हात्तीले मान्छे मार्ने बित्तिकै पीडित परिवारलाई सरकारले १० लाख दिन्छ। तर मान्छेले हात्ती मार्यो भने हात्तीले कहाँ गएर उजुरी गर्ने?’
आफ्नो अस्तित्वका लागि अरुको अस्तित्व मेटाउँदै गइरहेको मानिसलाई सजग गराउन अनिल यो नाटक गर्दैछन्।
हात्तीको कथा भन्न उनले हात्तीबारे लेख पढे, कथा पढे। विषयविज्ञसँग भेटे। नाटक बुन्दै जाँदा आफूभित्र आएको अनुभूति उनी सुनाउँछन्, ‘हामी मानिस बन्न नसक्दै मर्ने पो रहेछौं, हगी!’
गाउँमा चुलिएको चुलाचुली
काठमाडौंमा अनिल (उनी र अन्वेश थुलुङ राई)ले निर्देशन गरेको नाटक ‘चोरको स्वर’ले थिएटरमा दर्शकहरूको आकर्षण बढाएको थियो। गुणस्तर भएमा नाटक गरेर पनि कलाकार बाँच्न सक्छन् भन्ने मान्यता स्थापित गर्न खोजेको थियो।
तर उनी काठमाडौंमा मात्र सीमित छैनन्। काठमाडौं रहँदा पनि उनको पाइताला पूर्वमा अडिएको छ। उनी हरेक वर्ष गाउँ फर्किएर नाटक गरिहाल्छन्।
चुलाचुली रंगमञ्चबाटै उनले नाट्य यात्रा आरम्भ गरे। त्यतिबेला चुलाचुलीमा नाटक सुस्ताएको थियो। ‘पहिलो नाटक ०३३ सालमा भएको थियो। त्यसपछि ग्याप भयो। बीचमा अलिअलि भयो। त्यो पनि निरन्तर हुन सकेन। ०६४ सालबाट हाम्रो पुस्ताले लिड गरेर अगाडि बढिरहेको छ,’ अनिल भन्छन्।
अनिलको पुस्ताले सुरु गरेको ०६४ देखि हो। त्यसपछि नियमित नाटक गरिरहेका छन् उनीहरू। एक समय घरैपिच्छे कलाकार थिए त्यहाँ। तर, कुनै दिन यस्तो आयो कि नाटक भनेपछि निराशा मात्र बाँकी।
‘हामीले निरन्तर गर्यौँ। नेपालका विभिन्न फेस्टिभलमा नाटक लिएर गयौं। अहिले टिकट काटेर नाटक हेर्नुपर्छ भन्नेसम्म भएको छ,’ उनी सुनाउँछन्।
भवनका लागि त्यो समूहले गरेको संघर्ष पनि बेग्लै छ। सुरुमा उनीहरूले बगरमा रिहर्सल गरे, बारीमा गरे, आँगनमा गरे। एक पटक खाली भएको रेडक्रस हल पाए। केही समय नबित्दै रेडक्रसले हटायो।
वन विभागको भत्किन लागेको पुरानो कार्यालय खाली थियो। उनीहरूले त्यसैलाई हल बनाए। त्यो भवनमा मान्छेले पराल, सिमेन्ट, ढुंगा राखेका थिए। फोहोर सोहोरेर ०६८ देखि नाट्य समूह त्यहीँ बस्यो। र त्यो समूहको संघर्ष अहिले पनि जारी छ।
‘परिपक्व भवन वा हल नभए पनि काठमाडौं भन्दा पूर्व नाटकमा कम छैन भन्ने कुरा हामीले स्थापित गरिरहेका छौं,’ अनिल गर्वसाथ भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।