काठमाडौं – एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनलमा स्थान बनाउन नेपालले घरेलु टोली मलेसियाबाट ९१ रनको सामान्य लक्ष्य पाएको छ।
मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ४३.१ ओभरमा ९० रनको सामान्य योगफल बनाउदै अलआउट भयो।
मलेसियाका लागि मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाउँदै आउट भए। कप्तान डिज पार्तो ३२ बलमा १० रनमा आउट भए। मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १ विकेट लिए।
नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो।
समूह चरणमा नेपालले सङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको छ। मलेसियाले समूह चरणका चार खेलमध्ये तीन खेल जितेको छ। माल्दिभ्स, थाइल्यान्ड र म्यान्मालाई हराएको मलेसियाले हङकङसँग पराजय बेहोरेको थियो।
अघिल्लो संस्करणमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो। एसिसीको आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।