काठमाडौं- बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को शिखर सम्मेलनले बडापत्र बनाउने भएको छ।
काठमाडौंमा बसेका बिम्स्टेकका सदस्य राष्ट्रका पदाधिकारीहरुको बैठकले बिम्स्टेकको बडापत्र बनाउने सहमति गरेको हो। स्थापनाको २१ वर्षपछि बिमस्टेकले औपचारिक रुपमा दूरदृष्टि सहितको बडापत्र पाउने भएको छ। साथै बैठकमा शिखर सम्मेलनपछि जारी हुने घोषणापत्रका विषयमा पनि सहमति जुटाइएको छ।
बिम्स्टेकलाई प्रभावकारी र क्षेत्रीय विकासको अवधारणालाई प्राथमिकतामा राख्नुपर्नेमा सदस्य राष्ट्रका पदाधिकारीहरुले जोड दिएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए। नेपालले भूपरिवेष्ठित राष्ट्रको कनेक्टिभिटीका मुद्दालाई समेत जोड दिइएको उनले बताए। विद्युतीय प्रसारण लाइन विस्तार, सडक सञ्जाल लगायतका विषयमा समेत सदस्य राष्ट्रका पदाधिकारीबीच छलफल भएको थियो।
बैठकमा बिम्स्टेकको आम्दानी तथा खर्च, सचिवालयको प्रभावकारी सञ्चालन लगायतका विषयमा समेत छलफल भएको थियो। यस्तै बैठकमा नेपाल–भारत प्रबुद्ध समूह जस्तै प्रबुद्ध समूह इपिजी गठन र यसका क्षेत्राधिकारका विषयमा समेत चर्चा गरिएको सचिव वैरागीले जानकारी दिए।
भदौ १४ र १५ गते काठमाडौंमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको अन्य तयारीमा सरकार जुटेको छ। विम्स्टेक शिखर सम्मेलनको तयारी स्वरुप बसेको बैठकमा बिम्स्टेकका महासचिवसहित सदस्य राष्ट्रको विदेश मन्त्रालयका सचिवहरु सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।