काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा व्यापारिक सम्बन्ध वृद्धि गर्ने विषयमा केन्द्रित भएर छलफल हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारहरुले जोड दिएका छन्।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारका वक्ताले दुई दशक लामो बिम्स्टेकको बडापत्र नभएको, सदस्य मुलुकबीच व्यापार, पर्यटन, आर्थिक क्षेत्रमा प्रगति हुन नसकेको टिप्पणी गरेका छन् । पर्यटनको क्षेत्रमा बिम्स्टेकको दुई वटा मन्त्रिपरिषद्को बैठक बसे पनि प्रगति नभएको भन्दै बुद्ध परिपथको विकासका लागि सम्मेलनमा पहल हुनुपर्नेमा उनीहरुको जोड थियो ।
पूर्वराजदूत डा शंकर शर्माले सदस्य मुलुकमा पाँचदेखि सात प्रतिशतमात्र व्यापारमा लगानी भएको तथा भारतबाहेक अरु मुलुकको दृष्टिकोण प्रष्ट नभएको बताए। नेपालको ९७ प्रतिशत व्यापार भारतसँग हुँदै आएको र अन्य मुलुकसँगको व्यापार नगन्य देखिएको उनको भनाइ थियो ।
पूर्वराजदूत प्रद्युम्न शाहले थाइल्याण्डको पहलमा बिम्स्टेकको जन्म भए पनि थाइल्याण्डको झुकाव आसियानसँग भएकाले बिम्स्टेकले प्रगति नभएको बताए। उनले बिम्स्टेक बडापत्र बनाउने, बैंक स्थापना गर्नेजस्ता दूरदृष्टिसहितको तस्तावेज तयार गर्ने छलफल हुनुपर्ने औँल्याए। आगामी भदौ १४ र १५ गते राजधानीमा बिम्स्टेकको चौथो शिखर सम्मेलन हुँदैछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।